२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीका चार स्थानीय तह पहिरोको उच्च जोखिममा



 

भदौ ५, बैतडी । बैतडीका चार स्थानीय तहमा पहिरोको उच्च जाखिममा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा पहिरोको जोखिम देखिए पनि डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौडी नगरपालिका र मेलौली नगरपालिका भने उच्च जोखिममा रहेका समितिका संयोजक लालबहादुर महराले बताए ।

जिल्लामा विभिन्न किसिमका प्रकोपको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका विषयमा सम्बन्धित स्थानीय तहसँग छलफल भएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रेले बताए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गर्न आग्रह गरिएको छ उनले भने, “स्थानीयस्तरमा विपद् व्यवस्थापन समिति गठन गरी कार्यान्वयनमा ल्याइएमा प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ ।”

विभिन्न विपद्का घटनालाई न्यूनीकरण गर्न स्थानीय तहलाई बजेट छुट्याउन आग्रह गरिएको प्रजिअ गैह्रेले बताए । जिल्लाको डिलाशैनी गाउँपालिकाको बांगाबगर, गोकुलेश्वर, रुद्रेश्वर, दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन् । यस्तै जिल्लाको पुर्चौंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा रहेको विपद् संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।

जिल्लामा हुनसक्ने प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि जिल्लास्तरमा तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । पहिरोको उच्च जोखिममा रहेका स्थानीयबासीले स्थानीयस्तरबाट पहिरो नियन्त्रण गर्न नसकिने भएकाले प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको जनाए ।
रासस

प्रकाशित मिति : ५ भाद्र २०७५, मंगलबार ००:००