साउन, ३१ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा देखिएको अनियमितता, भ्रष्टाचार र जनप्रतिनिधिले उपभोग गरेका सुविधाका विषयमा चासो व्यक्त गरेका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा भएको अन्तक्र्रियामा उनले यो धारणा व्यक्त गरेका हुन् । उनले स्थानीय तहमा अनियमितता भएको, जनताका काम जनप्रतिनिधिले सहज ढङ्गले नगरिदिएको गुनासो धेरै आएकाले त्यस विषयमा गम्भीर हुन जनप्रतिनिधिलाई आग्रह गरे ।
“कतिपय ठाउँमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले महङ्गा गाडी किनेको, कतिपय वडा अध्यक्षले डोजर किनेर सडक निर्माणमा ठेक्का आफैँ लिएका गुनासा आएका छन्”, उनले भने, “ “तपाईंहरु जनप्रतिनिधि हो, त्यसकारण जनताले नरुचाउने काम नगर्नुहोस् । जनताले जे रुचाउँछन्, त्यस काममा केन्द्रित हुनुहोस् ।”
उनले कतिपय सुविधा कानूनले दिएको भनेर त्यसैअनुसार उपभोग नगर्न आग्रह गर्दै राजनीतिमा त्याग पनि महत्वपूर्ण भएको स्मरण गराउनुभयो ।
“त्यस्ता सुविधालाई अत्यावश्यकबाहेक अहिले त्याग गरेर जनताको मन जित्न सक्नुपर्छ,” उनले भने,“ देश निर्माणको ठूलो जिम्मेवारी गाउँपालिका र नगरपालिकाको जनप्रतिनिधिको काँधमा आइपुगेको छ ।”
प्रधानमन्त्री ओलीले दुर्गम ठाउँमा साधन स्रोतको कमी हुने भएकाले त्यहाँका जनप्रतिनिधिले धेरै चुनौतीमा काम गर्नुपर्ने बाध्यता रहेको स्वीकारे ।
“जतिसुकै चुनौती भए पनि देश निर्माणको जग भनेको तपाईंहरु नै हो”, उनले भने, “दुर्गमका बस्ती, राज्यको सेवासुविधा नपुगेका जनतामा तपाईंहरुले नै सेवा प्रवाह गर्ने हो ।” देश निर्माणका लागि जनताले स्थानीय जनप्रतिनिधिलाई ठूलो जिम्मेवारी दिएको नभुल्नसमेत उनले आग्रह गरे ।
भेटमा महासङ्घका प्रतिनिधिहरूले स्थानीय तहले भोग्नुपरेको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । रासस




प्रतिक्रिया