साउन २६, भक्तपुर । भक्तपुर नगरपालिकाले गत आर्थिक वर्ष २०७४/७५ मा पर्यटन शुल्कबाट २४ करोड १४ लाख ४१ हजार आम्दानी गरेको छ । गतवर्ष भक्तपुर अवलोकनका लागि आएका दुई लाख २७ हजार ६१४ विदेशी पर्यटकबाट नगरपालिकाले सो रकम आम्दानी गरेको हो ।
गतवर्ष चीनसहित दक्षिण एशियाली मुलुकका ९९ हजार ९८० र तेस्रो मुलुकका एक लाख २७ हजार ६३४ जना पर्यटकले भक्तपुर नगर अवलोकन गरेको नगरपालिकास्थित पर्यटन सूचना केन्द्रका प्रमुख दामोदर सुवालले जानकारी दिए ।
नगरपालिकाले चीनसहित दक्षिण एसियाली मुलुकका पर्यटकसँग प्रतिव्यक्ति ५०० र तेस्रो मुलुकका पर्यटकबाट भने प्रतिव्यक्ति एक हजार ५०० प्रवेश शुल्क उठाउँदै आएको छ ।
भक्तपुर नगरले २०५० साउन ६ गतेदेखि पर्यटकबाट शुल्क उठाउन शुरु गरेको हो । नगरपालिकाले तेस्रो मुलुकका पर्यटकबाट ५० शुल्क लिँदै पर्यटन शुल्कको शुरुबाट गरेको हो । त्यसको तीन वर्षपछि नगरपालिकाले पाँच दोब्बर वृद्धि गरी २०५३ साउन १ गतेदेखि तेस्रो मुलुकका पर्यटकका लागि पाँच अमेरिकी डलर वा नेपाली ३०० शुल्क उठाएको थियो ।
नगरपालिकाले २०५४ पुस १७ गतेदेखि प्रतिव्यक्ति ३० बाट चीनलगायत दक्षिण एशियाली मुलुकका पर्यटकसँग शुल्क उठाउन थालेको हो । अमेरिकी डलरको मूल्य वृद्धिसँगै नगरपालिकाले २०५७ भाद्र १ गतेदेखि तेस्रो मुलुकका पर्यटकको प्रवेश शुल्क ३७५ पु¥याएको सुवालले जानकारी दिए ।
नगरपालिकाले २०५७ पुस १७ गतेबाट पर्यटक शुल्कमा दोब्बर वृद्धि गरी तेस्रो मुलुकका पर्यटकका लागि प्रतिव्यक्ति ७५० वा १० अमेरिकी डलर र चीन तथा दक्षिण एशियाली मुलुकुका पर्यटकले प्रतिव्यक्ति ५० शुल्क उठाउन थाल्यो ।
विसं २०६७ पुस १७ गतेदेखि नगरपालिकाले तेस्रो मुलुकका पर्यटकसँग प्रतिव्यक्ति एकहजार १०० वा १५ अमेरिकी डलर र चीन तथा दक्षिण एशियाली मुलुकका पर्यटकलाई भने १०० पु¥याइएको थियो ।
अमेरिकी डलरको मूल्य वृद्धि भएको भन्दै नगरपालिकाले पुनः २०७० पुस १७ गतेदेखि लागू हुने गरी तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति एक हजार ५०० लिने व्यवस्था ग¥यो, भने २०७१ साउन १ गतेदेखि चीन तथा दक्षिण एशियाली मुलुकका पर्यटकको लागि ५०० शुल्क निर्धारण गरेको हो ।
नगरपालिकाको प्रमुख आयस्रोतको रुपमा रहेको पर्यटन शुल्कको आम्दानी नगरको सफाइ, सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यमा लगानी गरिंदै आएको छ ।
रासस
प्रतिक्रिया