११ श्रावण २०८२, शनिबार | Sat Jul 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुप्चेश्वर गाउँपालिकाको समुद्रटारमा सुविधासम्पन्न स्वास्थ्य चौकी



 

साउन १५, नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारमा रहेको समुद्रटार स्वास्थ्य चौकीले सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।

सुविधासम्पन्न भवनको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले सोमबार उद्घाटन गरी स्वास्थ्य चौकीको सेवा नयाँ भवनबाट शुभारम्भ गरे । दुई करोडको लगानीमा सो भवन निर्माण भएको हो ।

स्वास्थ्य चौकीलाई थप व्यवस्थित बनाउन र आवश्यक थप संरचना निर्माणको लागि ३० लाख गाउँपालिकाले चालू आर्थिक वर्षका खर्च गर्न लागेको समेत अध्यक्ष तामाङले जानकारी दिए ।

पहिलेको भवन निकै साँघुरो भएकोले सेवा प्रवाह गर्न समस्या भएकोमा अब त्यो समस्या हटेको स्वास्थ्यचौकीका इञ्चार्ज ताराकुमार श्रेष्ठले बताए । नयाँ भवनमा सुविधायुक्त प्रसूति कक्षा, प्रयोगशाला, हलसमेत छ ।

आवास कक्षासमेत रहेकाले स्वास्थ्यकर्मीले आपतकालीन अवस्थामा जुनसुकै बेलामा पनि सेवा दिनसक्ने स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडाअध्यक्ष किशोर आचार्यले जानकारी दिए ।

स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय होमबहादुर डंगोल र मेनुका डंगोलले तीन रोपनी, मधुसुदन आचार्य र राधादेवी आचार्यले दुई रोपनी गरी पाँच रोपनी जग्गा दान गरेका थिए । जग्गा दाताहरुलाई कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

समुद्रटार स्वास्थ्य चौकीमा सेवा लिनका लागि गाउँपालिकाका अन्य वडाहरुबाट समेत बिरामीहरु आउने गरेका छन् । घ्याङफेदी, राउतवेसी, गाउँखर्क, शिखरवेसी, बालकुमारी, बेतिनीका बिरामीहरुसमेत सेवा लिन आउने गरेकोले गाउँपालिकाले स्वास्थ्य चौकीलाई गुणस्तरीय स्वास्थ्य प्रवाहमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
रासस

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलबार ००:००