२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपरिषदमै झडप, राजपाका तीन कार्यकर्ता घाइते



 

साउन १३, गौशाला । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको आज दिउँसो दोस्रो गाउँपरिषद् भइरहेका बेला परिषद्मै कुर्सी हानाहान भएको छ ।

राजपा नेपालका अध्यक्षसहित बहुमतको स्थानीय सरकार रहेको पिपरा गाउँपालिकाको परिषद् भइरहेका बेला राजपा नेपालकै नेता कार्यकर्ताले परिषद्को विरोध र बहिष्कार गर्दा कुर्सी हानाहान भएको हो ।

राजपा नेपालका पिपरा गाउँपालिकास्तरीय पार्टी समितिका अध्यक्ष विनित पाण्डेको नेतृत्वमा गएको ५० ६० जना नेता कार्यकर्ताले गाउँपालिकाका अध्यक्ष विनोद चौधरीले पार्टीका कसैसंग कुनै राय परामर्श नगरी एकलौटीरुपमा परिषद् गर्न लागेको आरोप लगाए । परिषद्को विरोध र बहिष्कार गरेपछि अध्यक्ष पक्षका नेता कार्यकर्ता प्रतिकारमा उत्रिँदा दोहोरो झडप र कुर्सी हानाहान भएको थियो ।

दिउँसो परिषद् शुरु हुनेबित्तिकै विरोधी पक्षको तर्फबाट विनित पाण्डेले मञ्चमा पुगेर माइक खोसेर सबैलाई परिषद् हुँदैन भन्दै बाहिर जान भनेको र अन्य ५० ६० जनाले कुर्सी, टेबुल तोडफोड गर्न थालेपछि दोहोरो झडप भएको थियो ।

राजपाकै दुई गुटबीच परिषद्मै भएको झडपमा परेर विरोधी पक्षका तीन जना सामान्य घाइते भएको पाण्डेले बताए । साथै केही कुर्सी र माइक पनि तोडफोड भएको उनले बताए । दोहोरो झडपपश्चात् प्रहरी परिचालन गरी आधा घण्टापश्चात् पुनःपरिषद् शुरु भएको थियो ।
रासस

प्रकाशित मिति : १३ श्रावण २०७५, आइतबार ००:००