२४ मंसिर २०८२, मंगलबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाेटाङका जनप्रतिनिधिलाई एकै किसिमको लोगो र पोशाक



 

२ साउन, खोटाङ । जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिका लागी आफ्नो पहिचानको लागि पोशाक र प्रतिक चिह्न (लोगो) लागू गरिएको छ ।

पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट र नेपाली टोपी तथा महिला जनप्रतिनिधिको हकमा सारी, चौबन्दीचोली र कोटसँगै दुई हातले उठाएको खोटाङको नक्सा र नक्सामाथि राष्ट्रिय झण्डा रहेको लोगो लागू गरिएको हो ।

सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता र लोगो कायम गरिएको जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबि चाम्लिङले बताए ।

“पोशाकमा एकरुपता नहुँदा धेरै समस्या हुने गरेको पाइयो ।” उनले भने, “झट्ट हेर्दा नै चिन्न सजिलो होस् भनेर कार्यालय समय र औपचारिक कार्यक्रममा पोशाक र लोगो लगाउने निर्णय गरिएको हो ।”

आफ्नै लोगो र एउटै किसिमको पोशाक प्रयोगमा ल्याउने खोटाङ पहिलो जिल्ला भएको जनप्रतिनिधिले दाबी गरेका छन् । जिल्लाका सबै जनप्रतिनिधिले लगाउने लोगो असार ३१ गते आयोजना गरिएको जिल्लासभा उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई पासाङ र उषाकला राईले संयुक्तरुपमा सार्वजनिक गरेका थिए ।

आगामी दिनमा जिल्लामा हुने हरेक कार्यक्रम तथा कार्यालय समयमा जनप्रतिनिधिले अनिवार्यरुपमा तोकिएको पोशाक र लोगो लगाउनुपर्नेछ । २०७४ साल असोज २ गते बसेको जिल्ला समन्वय समितिको बैठकले जनप्रतिनिधिको छुट्टै पहिचानका लागि जिल्ला समन्वय समिति, दुई नगरपालिका र आठ गाउँपालिकाका वडा सदस्यदेखि गाउँ नगर प्रमुखको लोगोसहितको पोशाक निर्धारण गरेको थियो ।
रासस

प्रकाशित मिति : २ श्रावण २०७५, बुधबार ००:००