२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहका अस्पतालमा आँखा उपचार केन्द्र आवश्यक छः मुख्यमन्त्री पौडेल



 

३१ असार, चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले हरेक स्थानीय तहमा सञ्चालन गर्ने अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन गर्नुपर्ने बताएका छन् ।

सरकारले हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल सञ्चालन गर्ने तयारी गरेको बताउँदै पौडेलले ती अस्पतालमा आँखा उपचार केन्द्र खोल्न आवश्यक रहेको बताएका हुन् ।

नेपाल नेत्रज्योति संघ चितवन शाखाको २० औं वार्षिक साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले आँखा उपचार केन्द्रका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले साउनदेखि विकास निर्माणका कामलाई अभियानका रुपमा अघि बढाउने बताए । अहिलेसम्मको समय नीति निर्माण र ऐन कानून बनाउन लागेको भन्दै उनले सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि सबै नागरिक स्वस्थ हुनुपर्ने धारणा ब्यक्त गरे । उनले भने, “प्रदेश सरकारले चितवनलाई मेडिकल सिटीको रुपमा विकास गर्ने छ ।”

नेपाल नेत्रज्योति संघ चितवनका कार्यबाहक सभापति कृष्णराज धरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, संघका केन्द्रीय अध्यक्ष प्राडा तीर्थप्रसाद मिश्र, कृषि तथा वन विज्ञान विश्व विद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकाल, प्रदेश नं ३ का कृषि, भूमिसुधार तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेश सांसद घनश्याम दाहाल, नेपाल नेत्रज्योति संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा यस आर्थिक वर्षमा एक लाख ५१ हजार जना आँखाका बिरामीले सेवा लिएका छन् । नेपाल नेत्रज्योति संघ चितवनले नवलपरासी, पर्सा, बारा, धादिङ जिल्लामा सेवा दिँदै आएको छ । संघको अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्दै छ ।
रासस

प्रकाशित मिति : ३१ असार २०७५, आइतबार ००:००