३० असार, मोरङ । मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष ०७४/७५का लागि ६१ करोड ७४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले नगरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी छन् ।
नगरपालिकाले आगामी आवमा सडक पूर्वाधार निर्माण तथा स्तरोन्नति, कृषिको व्यवसायीकरण, पर्यटन पर्बद्धन, वातावरण संरक्षण, सिमसार प्रर्बद्धन, रोजगारी सृजना, आयआर्जनमुलक योजना, सामाजिक सुरक्षा, संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहमा प्रभावकारिता, सुशासन, सूचना प्रविधि जस्ता विभिन्न बिषयमा बजेट विनियोजन गरेको छ ।
सभा उद्घाटन समारोहका प्रमुख अतिथि तथा मोरङ क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद घनश्याम खतिवडाले स्थानीय आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।
राजनीति पेशा नभएर सेवा भएको कुरालाई आत्मसात गरी अघि बढे सुशासन कायम हुने पनि खतिवडाले बताए । बजेटले स्थानीय सरकारको प्रत्याभूति दिएको राय व्यक्त गर्दै सांसद खतिवडाले वडासदस्यदेखि प्रधानमन्त्रीसम्मका जनप्रतिनिधि निष्पक्ष हुनुपर्ने बताए ।
उनले उर्लाबारी नगर क्षेत्रमा चक्रपथ निर्माण गर्न संघीय सरकार समक्ष प्रस्ताव पेश गर्ने आश्वासन दिए । प्रदेशसभाका सांसद कुशल साम्बाले स्थानीय तहले कृषि र पर्यटनलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्नु पर्नेमा जोड दिए ।
केन्द्रदेखि गाउँगाउँसम्म बजेट विनियोजन हुन थालेको बताउँदै प्रदेश सांसद साम्बाले अब समृद्धिको यात्रा शुरु भएको बताए । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए । रासस
प्रतिक्रिया