Logo

स्थानीय तहमा अझै पनि कर्मचारी अभावकै समस्या



 

२२ असार, भीमदत्तनगर । जनप्रतिनिधि पाएको वर्षदिन बितिसक्दा पनि आवश्यक कर्मचारी नहुँदा स्थानीय तहका काम कारवाही प्रभावित भइरहेका छन् ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरले आज यहाँ आयोजना गरेको ‘स्थानीय तह र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रममा कञ्चनपुर बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले कर्मचारी अभावकै कारण समस्या भएको दुखेसो पोखे ।

स्थानीय तहमा कर्मचारी अभावले धेरै काम प्रभावित बनेको छ, उनले भने, “ सडक, शिक्षा, खानेपानीलगायत विकास निर्माण कार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौं, तर आवश्यक कर्मचारी नहुँदा ती काम प्रभावित भएका छन् ।”

उनले दैजी–बेल्डाँडी सडक टेण्डर भएको दुई वर्षमा पनि बन्न सकेको छैन भन्दै “वडा कार्यालय स्थापना गरेर काम कारवाही अगाडि बढाएका छौं तर कर्मचारी अभावका कारण धेरै समस्या भइरहेको छ ।”

बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले स्थानीय तहमा सरकारले पठाएको कर्मचारीको संख्या र तीमध्ये आए नआएको विवरण पेश गर्दै उनले भने “सिंहदरबार गाउँमै आएको भनेको छ, हामी जनप्रतिनिधिहरु पनि त्यही अनुसार सुविधा खोजिरहेका छौँ ।”

नगरप्रमुख चन्दले भने, “एक हजार ६०० कर्मचारी सरकारले स्थानीय तहमा खटाउँदा ३०० जनामात्रै खटिएको ठाउँमा आएको स्थिति छ ।” उनले कर्मचारीबाट स्थानीय तहलाई असहयोग भइरहेको गुनासो गरे ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले धेरै चुनौतीका बीच आफू काम गरिरहेको बताउँदै भने “हामीले सबै वडामा आवश्यकता अनुसार समानखालको विकासका कार्यक्रम अघि बढाएका छौँ ।”

उनले भने, “त्यसको पारदर्शिता र नगरको सुशासनका विषयमा सञ्चारकर्मीले पनि अनुगमन गरिदिनु पर्छ ।” सञ्चारमैत्री नगर बनाउने घोषणासहित नगरपालिकाले सञ्चार क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका लागि बजेटको व्यवस्था समेत गरेको नगरप्रमुख ऐरले जानकारी दिए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष खेम भण्डारीले सिंहदरबार गाउँमा आएसंगै त्यहाँको विकृति पनि गाउँमा आउनसक्नेतर्फ स्थानीय सञ्चारमाध्यम सचेत हुनुपर्नेमा जोड दिए ।
रासस

प्रतिक्रिया दिनुहोस्