२२ असार, नुवाकोट । बेलकोटगढी नगरपालिकालाई बिहीबार खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र भएको घोषणा गरिएको छ ।बेलकोटगढीको घोषणाले जिल्लाका सबै स्थानीय तह खुला दिसामुक्त र १२ मध्ये ७ स्थानीयतह पूर्ण खोपयुक्त घोषणा भएका छन् ।
बेलकोटगढी नगरपालिकाले कार्यक्रम नै आयोजना गरेर नगरभित्रका ९ हजार ८३ परिवारमध्ये सबैको घरमा पक्की शौचालय निर्माण भएको घोषणा गरेको छ । सोही आधारमा कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले खुल्ला दिसामुक्त क्षेत्र भएको घोषणा गरेका छन् ।
स्वास्थ्य कार्यालयको तथ्यांकको आधारमा नगरमा रहेका सबै बालबालिका तोकिएको खोपको पहुँचमा रहेको प्रतिवेदनअनुसार पूर्णखोपयुक्त भएको घोषणा गरिएको हो ।
खतिवडाले नगरवासी सभ्य समुदायतर्फ उन्मुख भएको बताए । नगर प्रमुख राजेन्द्ररमण खनालले विनाशकारी भूकम्पका कारण निजी आवासमा पु¥याएको क्षतिले त्यसको पुनःनिर्माण जारी रहँदा घोषणा कार्यक्रम केही ढिलाइ भएको बताए ।
खनालका अनुसार सबैका घरमा पक्की शौचालय निर्माण भएकाले अब ‘एक घर, एक धारा’ सार्वजनिक शौचालय, ढलनालीको उचित व्यवस्थापन तथा फोहरको सुरक्षित स्थानमा विसर्जनका कार्यक्रम सञ्चालन गर्न लागिएको छ । रासस


प्रतिक्रिया