२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीका कारण सुनसरीका आधा दर्जन बस्ती डुबानमा



 

अजितकुमार झा
२२ असार, इनरुवा ।

सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् । सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् ।

सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोला सहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले आधा दर्जन बस्ती डुबानमा परेका हुन् ।

डुबानका कारण निर्माण सामग्री, बाली र अन्य सामग्रीमा गरी करोडौँको क्षति भएको स्थानीयले बताएका छन् । बाढीका कारण इनरुवा–१०, जल्पापुरमा हाटसेट निर्माणका लागि राखिएका विभिन्न सामानसहित निर्माणका सामग्री बगाएको छ भने मरिया खोलाको बाढीले डुबानमा पारेको छ ।

खोला आसपास क्षेत्रका लहरे र तरकारी बालीमा समेत नोक्सानी पुगेको छ । जल्पापुर मुस्लिम निर्माणका सञ्चालक ऐयुव मियाँले ६० बोरा सिमेण्ट सहितका विभिन्न निर्माण सामग्री र मजदूरका खाद्यान्न तथा तरकारी बाली गरी गाउँमा करोडौँ को क्षति भएको बताए ।

स्थानीयवासी तथा ठेकेदारसमेत रहेका ऐयुव मियाँले डुबानका कारणले जनजीवन समेत धेरै प्रभावित भएको जानकारी दिए । बाढीको कारणले जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–७, नरसिंह टाप्पुको दलित बस्ती डुबानमा परेको छ । नरसिंहको दास टोल र सुकुम्बासी टोलका गरी १०० परिवार डुबानको चपेटामा परेका छन् ।

स्थानीय जगदीश यादवका अनुसार नरसिंह क्षेत्रमा डुबानका कारणले केही परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । केहीलाई घरमा भान्सा गर्ने अवस्थासमेत नरहेको यादवले बताए । सुनसरी खोलाको किनारमै रहेको बस्तीका धेरै घर डुबानमा रहेको स्थानीय चन्देश्वर मण्डलले जानकारी दिए ।

मण्डलका अनुसार बुधबारदेखिको वर्षाका कारणले आफ्नो गाउँमा बाढी आएको र बालबालिका सबैभन्दा बढी प्रभावित भएका हुन् । उता हरिनगर गाउँपालिका–७ घुस्की का साथै वडा नं २ र ४ मा समेत मरिया खोलाको बाढीले सयौँ घर डुबानमा परेको स्थानीय अब्दुल कैयुम खाँले जानकारी दिए । मरिया र सुनसरी खोलाको बाढीले १२० घर डुबानमा परेको खाँले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीले भने बाढी आएको तर हालसम्म कुनै धनजनको क्षतिको विवरण नआएको बताएको छ । नदी र खोला आसपासमा भने सतर्कताका साथ बस्न आग्रह गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

यसैबीच अबिरल वर्षाका कारण सुनसरी खोलामा आएको बाढीले हरिनगरा–बसन्तपुर जोड्ने बाटो पूर्णरुपमा अवरुद्घ भएको छ । सुनसरी खोलाको पानी मोरिया खोलामा मिसिएपछि बाटो पूर्णरुपमा अवरुद्घ भएको हो । बाटो अवरोध भएपछि हरिनगरा मावि र वासुदेव एकेडेमीमा अध्ययनरत बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् ।

बाढीका कारण पहिलो त्रैमासिक परीक्षा दिनबाट समेत बालबालिका वञ्चित भएको स्थानीयवासी सरोज मण्डलले जानकारी दिए । बाढीका कारण हरिनगर ५ वसन्तपुरमा रहेको शिशुवा जोड्ने बाटो हिलाम्मे भएपछि समस्या उत्पन्न भएको हो ।
रासस

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार ००:००