Logo

इमाडोलमा खानेपानी बृहत् योजना शुरु



 

२१ असार, ललितपुर । महालक्ष्मी नगरपालिकामा झण्डै चार वटा वडालाई लक्षित गरेर खानेपानी बृहत् योजना शुरु भएको छ ।

गोदावरी खोलाको पानी ठूलो ट्याङ्की बनाएर संकलन गर्ने र त्यहीँबाट घरघरमा वितरण गर्ने योजना रहेको खानेपानी योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष छिरिङ शेर्पाले बताए । झण्डै पाँच महिनामा काम सक्ने गरेर काम अघि बढाइएको हो । उनी भन्छन्, “समयमा नै सक्ने गरेर काम अघि बढिरहेको छ ।”

महालक्ष्मी नगरपालिका र वडा नं १ को सहयोगमा काम अघि बढिरहेको हो । वडा नं १ को पूरै क्षेत्र वडा नं २, ३ र ४ को आंशिक क्षेत्रका बासिन्दा यस योजनाबाट लाभान्वित हुनेछन् । ट्याङकीको क्षमता तीन लाख २५ हजार लिटर रहेको छ । पहिलो चरणमा पानीको संकलन र दोस्रोमा वितरण हुने अध्यक्ष शेर्पाले बताए ।

नगर आसपासका क्षेत्रसम्म फैलँदै साझा यातायात

साझा यातायातले अहिले ललितपुर नगर आसपासका क्षेत्रसम्म आफ्नो सेवा विस्तार गरेको छ । यसअघि बुंगमति–रत्नपार्क चल्ने गरेकामा केही दिनदेखि गोदावरी र लामाटारबाट समेत सेवा दिन थालेको कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए ।

काठमाडौंको पनि थानकोट, बूढानीलकण्ठ लगायतका स्थान र भक्तपुरको सूर्यविनायक सम्म साझाका बस सञ्चालनमा छन् । धेरै स्थानमा सिटी बसको माग गरिरहेका छन् । उनी भन्छन्, “बढी माग भएका स्थानमा स्थानीय निकायसंगका समन्वय गरेर हामीले सेवा विस्तार गरेका छौँ ।”

शहरी क्षेत्रमा साझाको बढ्दो मागका कारण थप २० वटा सिटी बस भित्र्याउने तयारी रहेको छ । ठेक्का सम्झौता भइसकेका यी बस केही समयपछि काठमाडौं उपत्यका भित्रनेछन् । त्यसभन्दा पहिले चार वटा डिलक्स बस आइपुग्ने साझाले जनाएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्