८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गरिबी निवारणका लागि नुवाकोटमा १० करोड लगानी



 

२१ असार, नुवाकोट । गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब १० करोड लगानी भएको छ ।

विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक २५ गाविसमा सञ्चालनमा रहेको कार्यक्रममार्फत नेपाल सरकार गरिबी निवारण कोषमार्फत आयआर्जन, भौतिक पूर्वाधार र जीविकोपार्जनको क्षेत्रमा समुदायमा गठन भएका संस्थामार्फत ९ करोड ३६ लाख ९९ हजार लगानी भएको कोषको नुवाकोट एकाइ संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिए ।

तामाङका अनुसार विभिन्न चारवटा सामाजिक संस्था मार्फत सञ्चालनमा रहेको कार्यक्रमले १७१ सामुदायिक संस्था निर्माण गरी छ करोड १२ लाख ५२ हजार लगानी गरी घुम्ती कोष सञ्चालन गर्दै आएको छ । लगानीको ब्याजसहित कोषमा हाल १० करोड पुग्न लागेको हो ।

“संस्थामा आबद्ध भएका चार हजार ७६६ जना सदस्यलाई गरिबीबाट उन्मूलन गरी आर्थिकरुपमा समृद्ध बनाउन लगानी प्रभावकारी देखिएको छ ।” उनले भने, “गरिबी निवारणको चरणअन्तर्गत न्यूनीकरणमा समेत उल्लेखनीय प्रगति हासिल गरेका छौँ ।”

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उक्त कार्यक्रम गत चैत महिनादेखि सम्पन्न भएको र समय थप नहुँदा नयाँ कार्यक्रमको स्वरुप भने अन्योल छ । राष्ट्र नै गरीब रहेको अवस्थामा धेरै नेपाली गरिब रहे पनि त्यसको मापनको अवस्था नहुँदा अब आर्थिकरुपमा सचेतनाको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन अब स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन भएमा प्रभावकारी हुने तामाङले बताए ।

सरकारले लगानी गरेको रकम अहिले सम्बन्धित सामुदायिक संस्थामार्फत घुम्ती कोषको रुपमा सञ्चालनमा छन् । कोषलाई परिवर्तित स्वरुप र शैलीमा सञ्चालन गर्ने भनिए पनि अझै निर्णय नहुँदा सरकारको लगानी जोखिम र दुरुपयोगको खतरा देखिएको छ ।
रासस

प्रकाशित मिति : २१ असार २०७५, बिहिबार ००:००