७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा मान्छे र वन्यजन्तुबीच द्वन्द्व बढ्दो



१९ असार, बैतडी । पछिल्लो समयमा बैतडीमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । खास गरेर चितुवा र मान्छे बीचको द्वन्द्व बढ्दै गएको जिल्ला वन अधिकृत प्रभात सापकोटाले बताए ।

विगत ७ वर्षको तथ्यांक हेर्ने हो भने चितुवाको आक्रमणबाट २३ जनाको ज्यान गइसकेको छ । “द्वन्द्वकै कारण मानव समुदाय पनि त्रासमा बाच्नु परिरहेको छ,” उनले भने, “वन्यजन्तु बस्ने बासस्थान क्रमशः नष्ट हुँदै जान थालेपछि द्वन्द्व बढेको हो ।”

चितुवा मात्रै नभएर बाँदर, बँदेल, स्याललगायतका जंगली जनावरले पनि मानवीय गतिविधीमा बाधा पु-याईरहेको जिल्ला वन कार्यालय, बैतडीका सहायक वन अधिकृत रामचन्द्र लामा बताउँछन् ।

“वन्यजन्तुले बालीनालीमा समेत असर पार्न थालेको छ,” लामाले भने, “बैतडीमा वनजंगल क्षेत्र बढ्दै गएपनि घनाजंगल भने घट्दै गएको छ । यसले गर्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ ।”

जनसंख्याको वृद्धिसँगै प्राकृतिक स्रोतमाथिको बढ्दो मागका कारण वन जंगलमा चाप बढ्दै जाँदा बन्यजन्तुसँग द्वन्द्व बढ्न गएको हो । २०६८ यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ ।

प्रसासनले धेरैपटक चितुवा मार्नका लागि तल्लोस्वराडमा प्रहरी र वनरक्षकको टोली पठाए पनि फेला पार्न नसकी फर्किने गरेको छ । चितुवाले सबैभन्दा बढी महिला तथा बालबालिकालाई आक्रमण गर्ने गरेको छ । रासस

प्रकाशित मिति : १९ असार २०७५, मंगलबार ००:००