१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगर सिसवारमा निर्मित ‘रोटरी मुसहर नमूना बस्ती’ हस्तान्तरण



 

१७ असार, रत्ननगर– चितवन । चितवनको रत्ननगर नगरपालिका–७ सिसवारमा निर्माण भएको ‘रोटरी मुसहर नमूना बस्ती’ शनिबार हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ गैँडाकोटको अगुवाइमा ‘रोटरी मुसहर नमूना बस्ती’ निर्माण गरिएको हो ।

गएको माघ १२ गतेबाट उक्त बस्ती निर्माण शुरु भएको थियो । घर निर्माण भए पनि अन्य बगैँचा र सामुदायिक भवन निर्माणको काम भने बाँकी नै छ । बस्ती हस्तान्तरण कार्यक्रममा रोटरियन अनिलकुमार थपलियाले राहत वितरणका लागि आउँदा ओत लाग्ने ठाउँ नभएको देखेपछि अभियान चलाएर बस्ती निर्माण गरिएको बताए ।

५८ लाख ३४ हजार लागतमा निर्माण भएको नमूना बस्तीको आधा खर्च भने हस्तबहादुर भट्टराई प्रतिष्ठानले बेहोरेको निर्माण समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अन्य विभिन्न संघसंस्था, रोटरियन र नगरपालिकाबाट पनि सहयोग प्राप्त भएको छ । अझै सो क्षेत्रमा आउने बाटो निर्माणका लागि आधा रकम बेहोर्ने प्रतिष्ठानका अध्यक्ष रामकुमार भट्टराईले बताए ।

पहिलो चरणमा १२ परिवारका लागि घर निर्माण भएको छ । पुन १२ घर निर्माण गर्ने योजना रोटरीको छ । एउटा घरमा भान्सा सहित तीनवटा कोठा र शौचालय बनाइएको छ । बाल उद्यान, सामुदायिक भवन समेत निर्माण गरिने र हरेक घरका लागि एक एक वटा ट्यूवबेल निर्माण गरिएको छ ।

चितवनको सौराहा नजिकै रत्ननगर ७ मा २६ जना मुसहरको नाममा खरिद भएको १५ कट्ठा सात धुर जग्गामा उक्त नमूना बस्ती बनाइएको हो । बस्ती हस्तान्तरणमा मुसहर आफ्नो पोषाकमा सजिएर खुशी मनाएका थिए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले चेपाङ र मुसहरलाई स्नातकोत्तरसम्म पढ्नका लागि नगरपालिकाले सहयोग गर्ने जानकारी दिए । मुसहर बस्तीकी अगुवा भगवन्ती मुसहरले एउटै घरमा दुई तीन परिवार बस्न बाध्य भएको अवस्थामा घर निर्माण भएपछि सहज भएको बताइन् ।
रासस

प्रकाशित मिति : १७ असार २०७५, आइतबार ००:००