२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीगण्डकीको पानी लिफ्ट गरेर तानसेन ल्याइँदै



 

सुशीला रेग्मी
११ असार, रामपुर– पाल्पा ।

तानसेन नगरपालिकाका जनतालाई यसै वर्ष २४ सै घण्टा घरघरमा खानेपानीको सुविधा उपलब्ध गराइने भएको छ । तानसेन कालीगण्डकी लिफ्ट खानेपानी योजनाबाट तानसेनका बासिन्दालाई सुविधा उपलब्ध गराइने भएको हो ।

उपभोक्ता समिति, निर्माण कम्पनी र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले एक वर्ष भित्र सो आयोजना निर्माणका सम्पूर्ण काम सकी पानी वितरण गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिसेकेण्ड ४० लिटर पानी तान्ने क्षमता सहितको सो आयोजनाको हालसम्म ४० प्रतिशत काम सकिएको छ । हाल तानसेनमा पाँच दिनमा एक घण्टा खानेपानी वितरण हुँदै आएको छ ।

कालीगण्डकी लिफ्टबाट दैनिक १८ घण्टा पम्प सञ्चालन गर्दा २४ लाख लिटर पानी तानसेनको बतासेडाँडामा आउनेछ । हाल तानसेनमा भुल्के, सिस्ने, तीनधारा र होलाङ्दीबाट लिफ्ट गरी खानेपानी वितरण हुँदै आएकामा कालीगण्डकीको लिफ्ट खानेपानी योजना थपिएपछि दैनक ४० लाख लिटर हाराहारीमा पानी आपूर्ति हुने तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यले बताए ।

उक्त योजनाबाट अहिलेसम्म पानी तान्नका लागि विद्युत् जडानको काम सकिएको र पानी संकलनका लागि कालीगण्डकीमा इनार निर्माणको काम भइरहेको छ । पानी तान्न विभिन्न पाँचवटा स्थानबाट एक एक लाख लिटर ट्याकी निर्माण गर्नुपर्नेमा तीन वटा ट्याङ्की निर्माण गरिएको छ । दुईवटा निर्माणको चरणमा रहेको र आठ इन्चको पाइप जडानको काम भइरहेको निर्माण कम्पनीका साइट इन्जिनियर दीपक न्यौपानेले जानकारी दिए ।

४० करोडमा निर्माण भइरहेको तानसेन रानीघाट लिफ्ट खानेपानी योजना संझौता बमोजिम २०७५ मंसिर ७ गतेभित्र सक्नुपर्ने छ । खानेपानी योजनाको काम युद्धस्तरमा भइरहेको छ । विसं २०७५ फागुन चैतभित्र तानसेनका जनतालाई कालीगण्डकीको पानी खुवाउने खानेपानी तथा सरसफाइ डिभिजनका प्रमुख केशवलाल शाक्यले बताए । कालीगण्डकीको पानीले आगामी १५ वर्षका लागि अन्य स्रोत खोज्न नपर्नेमा उनले जोड दिए ।

तानसेन खानेपानी उपभोक्ता समितिले हाल निर्माण भइरहेको कालीगण्डकी लिफ्ट खानेपानी योजनाको निर्माणस्थलमा अवलोकन गराएको छ । निर्वाचित जनप्रतिनिधि, खानेपानी उपभोक्ता समितिका पदाधिकारी, राजनीतिक दल, पत्रकार, तथा सरकारी कार्यालयका प्रमुख, होटल व्यवसायी र उपभोक्ताले उक्त क्षेत्रको अवलोकन गरेका हुन् ।

कालीगण्डकीको पानी खान पाउने आशामा तानसेनवासीमा खुशियाली छाएको छ । सो कार्यका लागि नयाँधारा जडान गर्न निवेदन दिएको एक हप्तामै उपभोक्ताको घरमा धारा जडान हुने उपभोक्ता समितिले जनाएको छ । हाल तानसेनमा २० लाख लिटर पानीको आवश्यकता भएकामा दैनिक सात लाख लिटर आपूर्ति हुँदै आएको छ ।
रासस

प्रकाशित मिति : ११ असार २०७५, सोमबार ००:००