२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा



 

राकेशकुमार मिश्र
१० असार, खजुरा– बाँके ।

स्थानीय डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति संयोजक अजय श्रीवास्तवले सो घोषणा गर्दै बालबालिकाका लागि खोप अमृत रस भएकाले यसलाई कहिलै पनि छुटाउन नहुनेमा जोड दिए ।

उनले खोप कार्यक्रमलाई सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाको प्रमुख दायित्व भएकाले उनीहरुको सोवाको स्थानीय सरकारले कदर गर्नुपर्नेमा जोड दिए । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको पहिलो प्राथमिकतामा स्वास्थ्य परेकाले घर घरमा स्वास्थ्य अभियान गरी यसमा सुधार ल्याइने बताए ।

उक्त गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले पूर्ण खोप घोषणाको अवस्था तथा समग्र गाउँपालिकामा स्वास्थ्य अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा गाउँपालिकाअन्तर्गत साठी वर्ष पुगेका महिला स्वयंसेवीहरू सुन्दरा लोनिया, जन्नतुल सल्मानी र जाहिरा बेगमलाई जनही २० हजार प्रदान गर्नुकासाथै बिदाइ गरिएको थियो ।

गाउँपालिकामा खोप सेवा लिने जन्मेदेखि एक वर्षका बालबालिकाको संख्या एक हजार १०९ पुगेको छ । जिल्लाका आठ वटा स्थानीय तहमध्ये डुडुवासंगै खजुरा र वैजनाथ गाउँपालिका पूर्ण खोप गाउँपालिका घोषणा भइसकेका छन् ।

ओपिडी सेवा शुरु

बाँके जिल्लाको खजुरास्थित शुशील कोइराला क्यान्सर अस्पतालले सोमबारदेखि ओपिडी सेवा शुरु गर्ने भएको छ । सेवा सञ्चालनका लागि स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थाका साथै सबैखाले उपकरण जडान भइसकेको अस्पतालका अध्यक्ष किश्मतकुमार कक्षपतिले बताए ।

उनका अनुसार १०० शैयाको मान्यता पाएको सो अस्पतालले शुरुमा ५९ शैयाबाट आफ्नो सेवा प्रारम्भ गर्नेछ । सो अस्पतालका लागि चालू आर्थिक वर्षमा १८ करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश नं ५, कर्णाली र ७ का नागरिक सो अस्पतालमा बाट लाभान्वित बताइएको छ । विसं २०६५मा शुरु गरिएको अस्पतालमा हालसम्म ३५ करोडभन्दा बढी लगानी भइसकेको छ ।
रासस

प्रकाशित मिति : १० असार २०७५, आइतबार ००:००