१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महेशदोभान र मलेखुबजार दुइ साता देखी अन्धकारमय



सीताराम अधिकारी
५ असार, मलेखु– धादिङ ।

नेपाल विद्युत् प्राधिकरणको लापर्बाहीका कारण धादिङ गल्छी गाउँपालिका ६ बैरेनी महेशदोभान र गजुरी गाउँपालिका २ मलेखुबजार क्षेत्र दुई साता देखि अन्धकारमय भएका छन् । पृथ्वीराजमार्गको महेशदोभान बाट माझीखेत, माझीलोसे, रैकर, बराडाँडा लगायत गाउँतर्फ गएका विद्युत् लाइनमा समस्या आएपछि गत जेठ २२ गते देखि सो क्षेत्र अन्धकारमय भएका हुन् ।

राजमार्गबाट २० मिनेटको दूरीमा रहेको बस्ती दुई सातादेखि विद्युत्विहीन हुँदा पनि कुनै पनि निकायले सहयोग नगरेको स्थानीय केशव अधिकारीले बताए । माझीखेतस्थित भर्खरै सञ्चालनमा आएका बालुवा प्रशोधन उद्योगमा जोडेको विद्युत् लाइन हावा चलेको बेला एकापसमा जुध्ने भएपछि प्राधिकरणले बस्तीतर्फको लाइन काटिदिएर उद्योगमा भने नियमित विद्युत् सञ्चालन गरिदिएको छ ।

उद्योग वरिपरिका घरमा पनि बिजुली बलिरहेको छ । त्यहाँबाट २०० मिटर टाढाको बस्तीका सर्वसाधारणलाई भने टुकीको भरमा बस्नु परेको छ । गाउँका ३० घर परिवार दुई सातादेखि बिजुली उपभोग गर्नबाट वञ्चित हुनुपरेपछि काटिएको लाइन जोडी दिन आग्रह गर्दै गाउँवासी दर्जनौँ पटक विद्युत् प्राधिकरण गजुरी शाखामा पुगिसकेका छन् ।

गाउँवासीले लाइन जोडी दिन मौखिक तथा लिखित अनुरोध गरे पनि प्राधिकरणले बेवास्ता गरेको स्थानीय नमराज काराखेती बताउँछन् । विद्युत् प्राधिकरणले गाउँवासीलाई नटेरेपछि उनीहरुले गल्छी गाउँपालिका, धादिङ क्षेत्र नं १ का सांसद भूमिप्रसाद त्रिपाठी, जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत् प्राधिकरण धादिङ शाखामार्फत पनि ध्यानाकर्षण गराएका थिए तरपनि हालसम्म खासै उपलब्धि हुन नसकेको काराखेतीले बताए ।

राजमार्गबाट गाउँतर्फ लगिएको बिजुलीको लाइन जोडिएको काठको पोल मक्किएर ढल्ने क्रममा छन् । गाउँमा रहेका काठको पोल पनि सामान्य हावाचल्दा भाँचिने डर छ, केही ठाउँमा भाँचिएको पोललाई टेको दिई अड्याएर राखिएको प्रवीन भण्डारीको भनाइ छ ।

यस सम्बन्धमा वडाध्यक्ष राजन श्रेष्ठ वडाले मात्र समस्या समाधान गर्न नसक्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले नै समस्या समाधान गर्नुपर्ने बताउछन् । नेपाल विद्युत् प्राधिकरण गजुरी शाखाका प्रमुख तोरणकुमार पोखरेलले छिटो टोली पठाएर समस्या समाधानका उपाय खोजिने जानकारी दिए । यसअघि गाउँमा लगिएको स्टिलको पोल समेत कहाँ कसरी गाड्ने भन्ने थाहा नभएर अलपत्र अवस्थामा छ ।

यसैगरी गजुरी गाउँपालिका–२ मलेखु बजार आसपासको क्षेत्रमा पनि दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा बजारवासी मर्कामा परेका छन् । माछा बजारका रुपमा रहेको मलेखुमा विद्युत् नहुँदा माछा बिग्रने गरेको र पटकपटक विद्युत् लाइन नियमित गर्न बजारवासीले माग गर्दा बेवास्ता गरेको मलेखुका सामाजिक कार्यकर्ता तिर्थ सिलवालले बताए ।

मलेखु बजार र आसपासका गाउँमा समेत विद्युत सेवा नपुगेको बेला बालुवा प्रशोधन मेशिनमा सञ्चालनका लागि बिजुली जोडिएपछि बजारमा समस्या आएको र ठूलो ट्रान्समिटर राख्न माग गर्दा स्थान उपलब्ध नभएको आरोप लगाउँदै विद्युत् प्राधिकरण गजुरी शाखाले काम नगरेको मलेखु बजारका रामहरि थापाले बताए ।

मलेखुको समस्या सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण गजुरी शाखाका प्रमुख तोरणकुमार पोखरेलसंग बुझ्दा समस्याको छिटो समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
रासस

प्रकाशित मिति : ५ असार २०७५, मंगलबार ००:००