२ असार, गौशाला । सबैतिर खाल्डाखुल्डी र कच्ची बाटो रहेको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर अहिले हिलाम्मे बनेको छ । जिल्लाको सदरमुकाम भए पनि यहाँको कुनै पनि सडक पीच छैन । केही दिनदेखि पानी परेको कारण जलेश्वरको सबै चौक चौराहा, हाट बजार र सार्वजनिक स्थलहरू हिलैहिलो भएको छ ।
वर्षाको पानीले जलेश्वरको शंकरचोक, नगरपालिकाचोक, दुर्गाचोक, खैराचौक, बुद्धिजीवीचोक, अस्पतालचोक, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, मालपोत, महिला विकास, जिल्ला शिक्षा कार्यालय, कृषि कार्यालय, पशु कार्यालय र जिल्ला अस्पतालमा हिलोले समस्या परेको छ ।
हिलोले गर्दा सदरमुकामका हाटबजार, सरकारी कार्यालयहरू सहित विभिन्न कार्यालयमा आउने सेवाग्राहीको संख्यामा समेत उल्लेख्य कमी आएको छ ।
जलेश्वरमा आधा किलोमिटर पनि पक्की बाटो छैन । भने केही दिनअघि नाला बनाउने भन्दै नगरभरिको प्रत्येक बाटोको बीचबाट गहिरो खाल्डो खनेपछि बाटो असुरक्षितसमेत बनेको छ ।
अहिले वर्षायाममा आएर जलेश्वरका मूल र सहायक सबै बाटो खनिएपछि विभिन्न स्थानमा मालबाहक तथा सवारी साधन फसेको छ, भने सर्वसाधारणलाई आवतजावतमा समेत समस्या भएको छ ।
साथै बाटो खनेर जथाभावी छाडिएकाले प्रत्येक दिन मोटरसाइकल, ट्याम्पु र साइकल चढ्ने यात्रु दुर्घटनामा पर्ने गरेका छन् । रातिको बेला बाटो हिँड्ने बटुवा र चौपाया पनि नगरभित्रको खाल्डो खसेर दुर्घटनामा पर्ने गरेको नगरवासीको गुनासो छ ।
स्थानीय निर्वाचनपछि जनप्रतिनिधिले आएर विकास गर्ने, जनतालाई सुख हुने विश्वास लिएका नगरवासी अहिलेसम्म केही काम हुन नसक्दा निराश छन् । रासस


प्रतिक्रिया