१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दरबन्दी माग गर्दै गाउँपालिकाको ध्यानार्कषण

लेखक स्थानीय खबर ३० जेष्ठ २०७५, बुधबार २ मिनेट पढाइ

अजितकुमार झा
३० जेठ, इनरुवा

सुनसरीको कोशी गाउँपालिकामा रहेका १६ वटा विद्यालयमा दरबन्दी शून्य रहेकाले सम्बद्ध विद्यालयका सञ्चालकहरूले दरबन्दीे माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

गाउँमा शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका ३१ सामुदायिक विद्यालयमध्ये १६ विद्यालयमा दरबन्दी शून्य रहेको शिक्षक फनिलाल सदाले बताए ।

विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको दरबन्दी मिलानका क्रममा एक/एक दरबन्दी दिने निर्णय तत्कालीन जिल्ला शिक्षा कार्यालयले गरेको थियो । तर ती १६ बिद्यालयमा दरबन्दी शून्य भएकाले दरबन्दी उपलब्ध गराउनुपर्ने सहित १० सुत्रीय माग गर्दै गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाएको शिक्षक अरुणकुमार मण्डलले जानकारी दिए ।

ध्यानाकर्षणपत्रमा शिक्षक दरबन्दीको अभावमा अध्यापनमा अवरोध भइरहेकाले यथाशीघ्र विद्यार्थीको आधारमा आवश्यक शिक्षक दरबन्दीको व्यवस्था गर्नुपर्ने, प्रधानअध्यापक तथा शिक्षकको छुट्टै नियुक्ति गर्नपर्नेजस्ता माग अघि सारेको शिक्षक जितन साहले बताए ।

छात्रवृत्ति नपाएको गुनासो

जिल्लाका सामुदायिक विद्यालयका बालबालिकाले समयमै छात्रवृत्ति नपाएको गुनासो गरेका छन् । जिल्लाका सामुदायिक विद्यालयलाई लगातार रुपमा तीन वर्षयता जेठ १४ गते एकै साथ छात्रवृत्तिको रकम वितरण गर्ने गरिए पनि यसपाली यहाँका बालबालिकालाई छात्रवृत्ति समयमै नदिएको पाइएको छ ।

पाठ्यपुस्तक र छात्रवृत्तिको रकम एकैसाथ चैतमा वा फागुनको अन्तिम हप्तामा विद्यालयको खातामा पठाउनुपर्नेमा पठाएको छैन । पाठ्यपुस्तक पाए पनि छात्रवृत्तिको रकम विद्यालयले नपाएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका उपसचिव दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

उहाँका अनु्सार दुहवी नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिका सहित केही गाउँपालिका तथा नगरपालिकाका बालबालिकाले समयमै
छात्रवृत्तिको रकम पाउन नसकेको भेटिएको हो ।

सरकारले बालबालिकालाई विद्यालयमा टिकाउने, सिकाउने र राम्रो शिक्षादीक्षा दिएर बजारमा विकाउने लक्ष्य लिएर आर्थिक वर्ष २०७४/७५ को शुरु मै बजेट जिल्ला तथा स्थानीय तहमा पठाए पनि स्थानीय सरकारले छात्रवृत्तिको रकम समयमा वितरण भएको छैन ।

समयमा छात्रबृत्तिको रकम निकासा नहुँदा तनाव झेल्नु परेको आधारभूत विद्यालयका प्रधानाध्यापक मनोजकुमार मेहताले गुनासो गरे ।

दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदार र प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाको लापर्बाहीका कारण सो क्षेत्रका ३० विद्यालयका बालबालिकाले दलित छात्रवृत्ति, , अपांगता भएको छात्रवृत्ति र जेहेन्दार छात्रवृत्ति नपाएको बालबालिकाको गुनासो छ ।

भोक्राहा गाउँपालिकामा रकम निकासा नदिएको विषयमा एक हप्ताअघि मात्रै प्रधानाध्यापकले गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई जानकारी गराए पछि अध्यक्ष यादवले तत्काल रकम निकासा दिने बताए । दुहबी लेखा शाखाले भने प्रशासकीय अधिकृत अन्यत्र सरुवा भएकाले प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको आदेश नआएकोले निकासा पठाउन नसकिएको जनाएको छ । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।