१० चैत्र २०८०, शनिबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसा बढ्दै



विनोद सिंह विष्ट
२६ जेठ, बैतडी ।

सूचना र प्रविधिको विकास तथा पहुँच बढेसँगै दुरुपयोग पनि हुन थालेको छ । पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोगले बैतडीमा बालविवाह र महिला हिंसाका घटना बढ्दै गएको छ ।

मोबाइल, इन्टरनेट लगायतका प्रविधिको दुरुपयोगले बैतडीमा बालविवाह चुनौतीपूर्ण बन्दै गएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृृत गणेश शाहीले बताए ।

सञ्चार क्षेत्रको विकास भएसँगै पछिल्लो समयमा ग्रामीणस्तरमा पनि सबै नागरिकको हातहातमा मोबाइल फोन, इन्टरनेट सेवा पुगेको छ । मोबाइल इन्टरनेटले बैतडीका किशोर किशोरी उमेर नपुगेरै भागेर बिहे गर्ने चलन बढ्दै गएको छ । यसले गर्दा बालविवाह न्यूनीकरण गर्नसमेत चुनौती थपिएको कार्यक्रम अधिकृृत शाहीको भनाइ छ ।

मोबाइल तथा इन्टरनेटको दुरुपयोगले बालबालिकाको पढाइमा समेत असर पारेको सामाजिक कार्यकर्ता लोकेन्द्रप्रसाद पन्त बताउँछन् ।इन्टरनेटको सहज पहुँचका कारण सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको र त्यसले बैतडीका किशोरकिशोरीमा भागेर विहे गर्ने परिपाटी बढ्दै गएको छ ।

फेसबुक, फोनमा कुरा गर्दै मायामा परेर उमेर नपुग्दै भागेर जाने चलन यहाँ पछिल्लो समयमा बढ्दै गएको छ । यसले गर्दा समाजमा सञ्चार माध्यमको दुरुपयोग भएको बालबालिकाका क्षेत्रमा काम गर्नेहरू बताउँछन् ।

“बालविवाहका कारण धेरैजसो महिला हिंसामा परेका छन्, उनीहरु मोबाइलकै दुरुपयोगका कारण बालविवाह गर्न बाध्य भएका छन्,” महिला विकास निरीक्षक विष्ना भण्डारीले भनिन् ।

बालबालिकाको उमेर नपुग्दै मागेर बिहे गर्ने चलन पनि बैतडीमा धेरै छ । कन्यदान गरे आफू मरेपछि राम्रो हुन्छ भन्ने गलत मान्यताले जरो गाडेको समाजमा स्वयम् आफै किशोरकिशोरी भाग्ने चलन बढ्दा झनै समस्या भएको छ ।

पछिल्लो समयमा सात, आठ कक्षामा पढ्ने विद्यार्थीको हातहातमा मोबाइल देखिन्छ । बालविवाह न्यूनीकरणमा साँच्चै लाग्ने हो भने १२ कक्षासम्म किशोरकिशोरीलाई मोबाइल बोक्न नदिने कानून बनाउन आवश्यक छ ।

सञ्चार प्रविधिको दुरुपयोगले विभिन्न समस्या निम्तिन थालेपछि स्थानीय तहले विद्यालयमा मोबाइल फोनमासमेत प्रतिबन्ध लगाउन थालेका छन् ।

दोगडाकेदार गाउँपालिकाले सूचना नै जारी गरेर विद्यालयमा मोबाइल बोक्न प्रतिबन्ध लगाएको सो गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए । उनले भने, “मोबाइलको दुरुपयोगका कारण धेरै समस्या निम्तिएकाले विद्यालयमा मोबाइल प्रतिबन्ध लगाइएका हौं ।” रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७५, शनिबार ००:००