७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘प्रदेशको अर्थतन्त्रको आधारः पर्यटन पूर्वाधार’



 

२५ जेठ, पोखरा । प्रदेश नं ४ को आव २०७५/७६ को वर्षिक नीति तथा कार्यक्रममा पर्यटन पूर्वाधारलाई अर्थतन्त्रको प्रमुख आधारका रूपमा लिइएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश प्रमुख बाबुराम कुँवरले पर्यटन क्षेत्रको एकीकृत विकास गर्न स्पष्ट कार्ययोजना सहितको पर्यटन विकास गुरुयोजना तयार गरिने बताए ।

जैविक र साँस्कृतिक विविधता एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो प्रदेशमा रहेका पर्यटकीय गन्तव्यको पहिचान, विकास र सम्वर्द्धन गर्दै पर्यटन उद्योगको प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले पर्वतारोहण, पदयात्रा, हिमशृङ्खलाको अवलोकन, कृषि पर्यटन जस्ता कार्यक्रमलाई जोड दिने उल्लेख गर्दै पर्यटकीय आकर्षणका लागि विभिन्न साहसिक पर्यटकीय खेलको आयोजना गर्ने जनाएको छ ।

अन्तर प्रदेशसँगको सहकार्यमा पोखरा–काठमाडौं–लुम्बिनीलाई बुद्ध स्वर्णिम त्रिकोणका रूपमा विकास गरिने, धार्मिक–सांस्कृतिक–ऐतिहासिक–पुरातात्विक महत्वका स्थलको संरक्षण र पूर्वाधारको विकास गरिने तथा पर्यटकीय पूर्वाधारको विकास निर्माण गर्दा वातावरणीय संरक्षण गर्ने नीति लिइने जनाइएको छ ।

ताल संरक्ष्ण विकास प्राधिकरण

सरकारको नीति तथा कार्यक्रममा संघ र स्थानीय तहसँगको सहकार्यमा प्रदेशका महत्वपूर्ण ताल, पोखरी र कुण्डको संरक्षण, विकास र सौन्दर्यीकरणका लागि ताल संरक्षण विकास प्राधिकरण गठन गरिने उल्लेख छ ।

पर्यटन सेवा सूचना केन्द्र

प्रदेश सरकारको नीति तथा कार्यक्रममा पर्यटकका लागि आवश्यक पर्ने सेवा र सूचनाको प्रवाह गर्न पर्यटन सेवा सूचना केन्द्र स्थापना गर्दै लगिने उल्लेख छ । पर्यटन व्यवसायको बजारीकरण गर्न आधुनिक सूचना प्रविधिको उपयोग गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रदेशको पर्यटकीय छवि स्थापित गर्न पर्यटकीय सम्पदा र स्थलको ब्रान्डिङ गर्दै लगिने बताइएको छ ।

सरकारले पर्यटकको प्रवेशदेखि बहिर्गमन सम्मको एकीकृत कार्यक्रम तयार गर्न प्रोत्साहन गर्ने भनेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु क्षेत्र, ढोरपाटन शिकार आरक्ष, विभिन्न ग्रामीण पर्यटन केन्द्र, घरबास र पदयात्रा मार्गलाई संरक्षण, संम्वर्द्धन, सौन्दर्यीकरण र विकास गर्दै पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिने, मुस्ताङ, मनाङ र गोरखाको चुमनुब्रिलाई अन्तर्राष्ट्रिय स्तरको चलचित्र छायाङ्कन केन्द्रका रूपमा विकास गरिने सरकारको योजना छ । रासस

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार ००:००