गोपालप्रसाद पोखरेल
२५ जेठ, मोरङ । अर्थशास्त्री र पर्यटन क्षेत्रका विज्ञहरूले प्रदेश नं १ को सरकारलाई कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव दिएका छन् । सबैभन्दा पहिले कृषिमा लगानी बढाउनु पर्ने अर्थशास्त्री डा. भेषप्रसाद धमलाको सुझाव छ ।
“परम्परागत शैलीबाट कृषि अगाडि बढ्दैन । निश्चित योजना र दृष्टिकोणसहित बजेट ल्याउनु पर्छ ।” धमलाले भने । यतिबेला प्रदेश सरकार बजेट निर्माणमा व्यस्त छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संविधानमै बाध्यकारी व्यवस्था गरिएको छ ।
आधुनिक प्रविधिको प्रयोग गर्नेगरी कृषिसम्बन्धी नीति बन्नुपर्ने उनको धारणा छ। बाह्य मुलुकहरूसँगको व्यापारघाटा कम गर्ने एकमात्र क्षेत्र कृषि भएको उनको दाबी छ ।
कृषिकै माध्यमबाट छिटो जनताको जीवनस्तर उकास्न सकिने पर्यटन विज्ञ प्रा.डा. सोमनाथ खतिवडाको भनाइ छ । पर्यटकलाई आफूतिर आकर्षित गर्ने विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा बढी उचाईका मकालु, ल्होत्से, कन्चनजंघा र कुम्भकर्ण हिमाल प्रदेश नं १ मा छन् ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोशी टप्पु वन्यजन्तु आरक्ष जस्ता पर्यटकीय स्थल यहीँ छन् । त्यस्तै १ नं. प्रदेशमा धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना छ ।
हलेसी महादेव, पाथीभरालगायतका विभिन्न धार्मिकस्थल पनि यही प्रदेशमा पर्दछ । पछिल्लो समयमा धरानमा प्याराग्लाइडिङ शुरु भएको छ भने तमोर र कोशी नदीमा ¥याफ्टिङ पनि शुरु गरिएको छ ।
इलामको माइपोखरी, संखुवासभाको सभापोखरी, भोजपुरको साल्पापोखरीजस्ता माथिल्लो भेगका रमणीय पोखरी तथा तालले पनि यहाँ पर्यटीकय सम्भव्यता धेरै भएको देखाउँछ ।
यसैगरि तराई तथा चुरे क्षेत्रको सीमसारले १ नं. प्रदेशको पर्यावरणको अवस्था मजबुत रहेको देखाउँछ । पर्यटन र कृषिको प्रतिफल चाँडै प्राप्त हुने भएकाले प्रदेश सरकारले त्यसअनुसार बजेट विनियोजन गर्नुपर्ने उनीहरूको सुझाव छ । रासस




प्रतिक्रिया