६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनजिओ र आइएनजिओलाई कडाई गर्ने तयारी



 

२४ माघ, काठमाडौं । सरकारले राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)को अनुगमन र नियमनमा कडाई गर्ने तयारी गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा तथा दुवै मन्त्रालयका पदधिकारीबीच गृह मन्त्रालयमा बसेको बैठकले एनजिओ र आइएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निर्ष्कष निकालेको छ । बिकृति नियन्त्रणका लागी यस क्षेत्रको अनुगमन र नियमनलाई तीव्रता दिने निर्णय गरेको छ ।

हालको नियमनमा केहि कमजोरी देखिएकाले अब उपरान्त जिल्ला प्रशासन कार्यालयले पनि नियमन गरी रिपोर्ट पठाउने निर्णय बैठकले गरेको छ ।

यसैगरी बैठकले एनजिओ र आइएनजिओका पदाधिकारीको समेत सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गरी कार्यविधि बनाउने र त्यसलाई कडाइकासाथ लागू गर्ने निर्णय गरेको जनाएको छ ।

पछिल्लो तीन वर्षदेखि दर्ता नवीकरण नभएका एनजिओ र आइएनजिओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र सो अवधिमा दर्ता नभए स्वतः खारेज गर्नेसमेत बैठकको निर्णय छ । मुलुकमा हाल ४७ हजार एनजिओ र २ सयभन्दा बढी आइएनजिओ दर्ता छन् । तीमध्ये धेरै एनजिओहरुले वर्षौँदेखि नवीकरण गराएका छैनन् ।

यस्तै भ्रष्टचार र राजनीतिक गतिविधिमा संलग्न हुने तथा धर्म प्रचार गर्नेजस्ता कार्यमा संलग्न एनजिओ र आइएनजिओको समेत दर्ता नवीकरण नगर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले ७७ वटै जिल्लाबाट ती जिल्लामा सञ्चालित एनजिओ र आइएनजिओको विवरण र गतिविधि पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

यस्तै समाजकल्याण परिषद्बाट सहमति लिएर गतिविधि गरिरहेका सबै संघसंस्थाको विवरण पठाउन परिषद्लाई पनि निर्देशन दिने निर्णय बैठकको छ । बैठकमा महिला बेचविखन रोक्नका लागि दुवै मन्त्रालयले सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ ।

यस्तै समाज कल्याण परिषद्को भृकुटीमण्डपलगायत क्षेत्रमा रहेको भवन तथा जग्गामा वर्षौदेखि बसेका केही व्यवसायी एवं संघसंस्थाले भाडाबापतको रकम नतिरेको जानकारी परिषद्का पदाधिकारीले बैठकमा गराएपछि भाडा नतिर्नेलाई हटाउन गृह मन्त्रालयले सहयोग गर्ने निर्णय भएको छ । रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहिबार ००:००