७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी गाउँपालिकामा ४०० चल्ला मरे, बर्डफ्लुको आशंका



 

२३ जेठ, इनरुवा ।
सुनसरीको कोशी गाउँपालिका ६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् । स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति ल्याएका चल्ला मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक मर्न थालेको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिए ।

यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद गरेका थिए । ४०० चल्ला एकैचोटी मरेकाले स्थानीयवासी र पशु प्राविधिकले बर्डफ्लुको आशंका गरेका छन् । चितवनमा बर्डफ्लु फैलिएका कारण त्यहाँबाट चल्ला ल्याएकाले चल्लामा बर्डफ्लु हुन सक्ने स्थानीय पशु प्राविधिक पाठकले आशंका गरेका छन् ।

पाठकले किसान यादवले प्रतिगोटा ४५ का दरले करीब १८ हजारको चल्ला ल्याएको र १२ घण्टा नहुँदै एक्कासि चल्लाको मृत्यु भएकाले स्थानीयवासी सशंकित भएका छन् । केहीले एकाएक यति ठूलो संख्यामा चल्लाको ज्यान जानुलाई बर्डफ्लुको नै लक्षण भएको आशंका गरेका छन् । आशंका भएका कारण आवश्यक चेकजाँच तथा परीक्षण गर्नका लागि जिल्ला पशुसेवा कार्यालयलाई समेत आग्रह गरेको पीडित किसानलाई उद्धृत गर्दै प्राविधिक पाठकले बताए ।

यता किसानको चल्ला एक्कासि मरेपछि किसान चिन्तित भएका छन् । किसानले आफूले ल्याएको चल्ला एक्कासि मरेपछि बिक्रेतासँग क्षतिपूर्तिको मागसमेत गरेका छन् । यता कैलाशपति ह्याचरी चितवनका पूर्वाञ्चल प्रमुख अनिल बस्नेतले आफूले मधुवनका वासु श्रेष्ठलाई चल्ला दिएको र यो विषयमा घटनास्थलमा पुगेपछि मात्र केही भन्न सकिने बताए ।

त्यस्तै, जिल्ला पशुसेवा कार्यालय, सुनसरीका प्रमुख शिवनाथ महतोले आफूलाई सो विषयमा जानकारी नआएको प्रतिक्रिया दिए । प्रमुख महतोले जिल्लाका किसानलाई चितवनमा बर्डफ्लु फैलिएका कारण त्यहाँबाट पक्षी तथा पक्षीजन्य पदार्थ ल्याउन कडाइ गरेको भए पनि किसानले आफूखुशी गरेकाले त्यसो हुन गएको बताए ।

महतोले किन त्यहाँबाट चल्ला ल्याउन हतार गरेको हो आफूलाई थाहा नभएको र बर्डफ्लुको आशंका भए त्यसको सुली र मृत चल्ला परीक्षणका लागि विराटनगरस्थित प्रयोगशालामा लानका लागि सुझाव दिएका छन् ।

देशका विभिन्न भागमा बर्डफ्लुको जोखिम तथा प्रभावित भएको प्रतिक्रिया दिदै किसानले नै त्यस्तो जोखिम मोलेर चल्ला ल्याएकाले सो घटना हुन गएको बताए ।
रासस

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार ००:००