१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीयले विकास चाहिँदैन भनेपछि करोडौँ बजेट फिर्ता



 

उमा केसी
२२ जेठ, रोल्पा ।

स्थानीयबीचको वैमनश्यताका कारण रोल्पाको लुंग्री गाउँपालिका–६, गुम्चालको विकास गतिविधि ठप्प भएको छ । विकासमा पछाडि परेको भन्दै गाउँपालिकाले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि आपसी वैमनश्यताका कारण साविक गुम्चाल गाविस वडा नं ७, ८ र ९ को विकास गतिविधि अगाडि बढ्न नसकेको हो ।

पानी मुहानको विषयबाट शुरु भएको विवादले हाल वडाका सबै विकास गतिविधिमा प्रभाव पारिरहेको स्थानीयले गुनासो गरेका छन । पानी मुहानको विवादका कारण २०६५ सालमा निर्माण गरिएको योजनासमेत बेवारिसे भएको छ । योजना अवरुद्ध हुँदा वडाका २०० बढी घरधुरी आधा घण्टा टाढाबाट पानी बोक्न बाध्य छन् ।

एक घर एक धाराको कार्यक्रम अन्तर्गत योजना सञ्चालन भए पनि विवादका कारण कुवाको पानी बोकेर खान बाध्य भएको स्थानीयले बताएका छन् । विवादका कारण पानी आपूर्तिको पाइपमा क्षति पुगेसँगै घरघरमा आएको पानी बन्द हुँदा गाग्रोमा पानी बोक्न बाध्य छौ, स्थानीय एक महिलाले गुनासो गरे । स्थानीयको विवादकै कारण सो गाउँमा यसपूर्व सिँचाइका लागी आएको करोडौँ बजेटसमेत फिर्ता भएको बताइएको छ ।

छ वर्षअघि विद्युत्को पोल गाडिएको भए पनि विवादकै कारण हालसम्म बत्ती बल्न सकेको छैन । गाउँपालिकाले मोटरबाटो निर्माणका लागि बजेट विनियोजन गरेको भएपनि आर्थिक वर्ष समाप्त हुन लाग्दा समेत निर्माणको टुंगो लाग्न नसकेको बताइन्छ । विवादका कारण आफूहरुलाई विकास नचाहिने भन्दै केही स्थानीयले सदरमुकाम पुगेर स्थानीय प्रशासनमा उजुरीसमेत गरेको बताइएको छ ।

आपसी विवादका कारण विद्यालय भवनसमेत मर्मत नभई जीर्ण अवस्थामा रहेको छ, एक स्थानीयले बताए । गाउँपलिकाका अन्य सबै वडामा सडक पुगेपनि आफूहरु भने अझै गाडी चढ्न आधा घण्टाभन्दा बढी पैदलयात्रा गर्न बाध्य भएको उनले गुनासो गरे । सामान्य कुरामा समेत विवाद गर्ने त्यहाँको विशेषता भएपनि पछिल्ला दिनमा राजनीतिक रङगसमेत मिसिएको छिमेकी वडावासीले बताएका छन् ।

विकासमा पछि परेको भन्दै गाउँपालिकाले अन्य वडाको तुलनामा सो वडामा बढी बजेट विनियोजन गरेको भएपनि विवादले काम अगाडि बढ्न नसकेको लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले स्वीकार गरे । विवाद मिलाउन आफूले पटकपटक प्रयास गरेको भएपनि अझै सहमति हुन नसक्दा बजेट फ्रिज हुने हो कि भन्ने चिन्ता लागेको अध्यक्ष खड्काले बताए ।

विवादित पक्षबीच छलफल गरेर समस्या समाधानका लागि आफूहरु लागिरहेको अध्यक्ष खड्काले बताए । विद्यालयसम्म पुग्ने मोटरबाटो निर्माणमा भने सहमति जुटेकाले अन्य विकासमा पनि सहमति हुनेमा आफू आशावादी रहेको अध्यक्ष खड्काले बताए ।

छलफलमा दुइ पक्षको उपस्थिति नहुँदा समस्या समाधानमा विलम्व भइरहेको छ, खड्काले भने । विवादको जड पानी मुहान भएकाले त्यसको विकल्पसमेत खोज्न सकिने गरी आफू लागिपरेको उनको भनाइ थियो ।

स्थानीय तहको निर्वाचनपछि बनेको स्थानीय सरकारबाट विकास गतिविधिमा आएको तीव्रतासँगै छिमेकी वडा लाभान्वित भए पनि आफूहरु भने विवादकै कारण विकास गतिविधिबाट वञ्चित हुनुपरेको स्थानीय सर्वसाधारणले गुनासो गरेका छन् ।
रासस

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलबार ००:००