Logo

स्थानीय तहलाई नयाँ पद्धतिमा लैजानुपर्छः संविधानविद् दाहाल



 

२० जेठ, रुपन्देही ।
स्थानीय तहका जनप्रतिनिधिलाई नेतृत्व सक्षम बनाउन तीनदिने नेतृत्व तथा क्षमता विकास सम्बन्धी अभिमुखीकरण शनिबार सैनामैनाको मुर्गियामा शुरु भएको छ ।

सैनामैना नगरपालिकाको १ देखि ११ वडाका वडाध्यक्ष, वडा सदस्य तथा नगर कार्यपालिका सदस्य सहभागी रहेको अभिमुखीकरणमा न्यायिक समिति, नीति तथा कार्यक्रम र बजेट बनाउँदा प्राथमिकीकरण गर्ने विषयमा जानकारी दिइएको छ ।

सो अवसरमा संविधानविद् काशीराज दाहालले नीति तथा कार्यक्रम र बजेट परम्परागत होइन प्राथमिकीकरण गर्नुपर्ने उल्लेख गर्दै बजेटले सडक, खानेपानी, द्वन्द्व व्यवस्थापनको कुन विषयमा जोड दिने हो निश्चित गर्नुपर्ने बताए ।

उनले स्थानीय तहलाई नयाँ पद्धतिअनुसार लैजानुपर्नेमा जोड दिँदै स्थानीय तहलाई कानून बनाउने र खर्च गर्ने अधिकार भएपछि प्रभावकारी अनुगमनको संयन्त्र निर्माण गर्नुपर्ने बताए । संविधानविद् दाहालले कर्मचारीको आकार चुस्तदुरुस्त र सानो आकारको भए पनि जनतालाई गुणस्तरीय र छिटोछरितो सेवा प्रवाह गर्नुपर्ने उल्लेख गरे ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरभित्र रहेको खेतीयोग्य जमिको उचित सदुपयोग हुन नसकेकामा चिन्ता व्यक्त गर्दै फोहरमैला व्यवस्थापनका लागि एक महिनाभित्र ‘डम्पिङसाइड’ निर्माण गरिने बताए । अभिमुखीकरण तीन दिनसम्म सञ्चालन हुनेछ ।

नगरपालिकाका उपप्रमुख विना रानाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारी, नगर कार्यपालिका सदस्य सविता भुसाल भण्डारी लगायतले स्थानीय तहको समस्या समाधानका विषयमा बोलेका थिए ।
रासस

प्रतिक्रिया दिनुहोस्