२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगर प्रोफाइल निर्माण शुरु



१९ जेठ, भक्तपुर । सूर्यविनायक नगरपालिकाले व्यक्ति–व्यक्तिको सम्पूर्ण विवरणसहितको नगर प्रोफाइल निर्माण शुरु गरेको छ ।

सूर्यविनायक नगरपालिका वडा नं ७ स्थित प्रतिनिधिसभा सदस्य, एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले आफ्नै घरबाट नगर प्रोफाइलको तथ्यांक संकलन भएपछि सो अभियानको शुभारम्भ गरिएको हो ।

सांसद बस्नेतले नगरपालिकाको विकासका लागि यो प्रोफाइल कोशेढुङ्गा सावित हुने बताउँदै प्रोफाइल हेर्नासाथ सूर्यविनायकको विगतदेखि भविष्यसमेत देख्न सकिने भएकाले विकासका लागि यो प्रभावकारी हुने बताइ ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरवासीको सम्पूर्ण विवरण ऐनाजस्तै देखिने भएकाले घर घरमा गएर व्यक्ति–व्यक्तिको प्रोफाइल तयार गरिने बताए ।

नगरपालिकाका १० वटै वडाध्यक्षको घर घरबाट शुरु भएको तथ्यांक संकलन कार्य सबै वडाका घर घरमा पुगेर संकलन गरिने उनले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमल्सिनाले घर, टोल, व्यवसाय, शिक्षा, रोजगारी, कृषि, प्रविधि, स्वास्थ्य, सहकारी, पशु, सवारी साधन, जग्गा, लालपूर्जा, नागरिकता, व्यक्तिको जन्म, मृत्यु, विवाह, बसाइँ सराइलगायत घरको तस्वीर र नक्सासमेत रहने गरी सम्पूर्ण विवरणसहितको तथ्यांक संकलन गर्दै यसलाई दैनिक अपडेट गर्ने व्यवस्था गरिएको बताए ।

ड्रोन क्यामराको माध्यमबाट नगरपालिकाको सिंगो डिजिटल नक्सा लिएर थ्रिडी इमेजसहितको नक्सा तयार पारिने, कुन र कसको घर कति डिग्रीमा छ, घर कहाँ पर्छ भन्नेसम्मको सिंगो नगरपालिकाको चित्र आउने गरी प्रोफाइल तयार पारिने भएको तिमल्सिनाले बताए ।
रासस

प्रकाशित मिति : १९ जेष्ठ २०७५, शनिबार ००:००