१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहका जनप्रतिनिधिले सुविधा पाउने बाटो खुल्यो



 

भरत केसी
१६ जेठ, बुटवल ।

प्रदेश नं ५, प्रदेशसभाको बुधबार बसेको बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ लाई सर्वसम्मतले पारित गरेको छ ।

यो विधेयक पारित भएपछि अब प्रदेश प्रमुखबाट प्रमाणित भएपछि प्रदेश अन्तर्गतका स्थानीय तहका जनप्रतिनिधिका लागि सुविधा पाउने बाटो खुल्ने छ ।

प्रदेशसभाबाट कानून निर्माणमा ढिलाइ भएका कारण स्थानीय तहमा निर्वाचित भएर आएको झण्डै एक वर्षसम्म पनि स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक सुविधा पाउन सकेका थिएनन् ।

विधायन समितिका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले प्रदेश नं ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा पुनर्विचार गरी परिमार्जित विधेयक सहितको प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए ।

त्यसपछि स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पास गरियोस् भनी मुख्यमन्त्री शंकर पोखरेलले बैठकमा पेश गरेको प्रस्ताव सभामुख पूर्णबहादुर घर्तीले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो ।

यसअघि गत वैशाख २५ गतेको प्रदेशसभा बैठकमा विधायन समितिबाट प्रस्तुत भएको यो विधेयकको प्रतिवेदन मुख्यमन्त्री पोखरेलले पुनर्विचार गरियोस् भनी विधायन समितिमा पठाउने प्रस्ताव राखेपछि विधायन समितिमा फिर्ता पठाइएको थियो । विधायन समितिले विधेयकमा पुनर्विचार सहितको प्रतिवेदन आजको बैठकमा पेश गरेको हो ।

विधायन समितिले यसअघि परिमार्जित विधेयकको अनुसूची–१ मा पदाधिकारी एवं सदस्य तथा कार्यपालिका सदस्यलाई एकमुष्ट मासिक सुविधाको व्यवस्था गरेकाले अलग्गै व्यवस्था गरिएको सञ्चार सुविधालाई हटाएर विधेयकलाई अन्तिम रुप दिई बैठकमा प्रतिवेदन प्रस्तुत गरिएको विधायन समितिका ज्येष्ठ सदस्य शर्माले जानकारी गराए ।

विधेयकमा जिल्ला समन्वय समिति प्रमुखका लागि मासिक ४१ हजार पारिश्रमिकसहित सञ्चार सुविधाबापतको सेवा हटाई अन्य सुविधा कायमै राखिएको छ । विधेयक अनुसार उपप्रमुखका लागि मासिक ३६ हजार पारिश्रमिकको व्यवस्था सहित सञ्चार सुविधा हटाइएको छ भने अन्य सुविधा यथावत् कायम गरिएको छ ।

जिल्ला समन्वय समिति सदस्यका लागि यसअघि प्रति बैठक भत्ता दिने व्यवस्था रहेकामा विधेयकमा उनीहरुका लागि मासिक १६ हजार सुविधा सहित अन्य भत्ता यथावत् कायम हुने व्यवस्था गरेको छ ।

प्रस्तुत विधेयकमा उपमहानगरपालिकाका प्रमुखलाई ४० हजार, नगर प्रमुखलाई ३५ हजार र गाउँपालिका प्रमुखलाई ३० हजार पारिश्रमिक सुविधासहित अन्य भत्ता सुविधा समेतको व्यवस्था गरिएको छ ।

यस्तै प्रस्तुत विधेयकमा उपमहानगरपालिका उपप्रमुखलाई ३५ हजार, नगर उपप्रमुखलाई ३० हजार र गाउँपालिका उपप्रमुखलाई २७ हजार पारिश्रमिक सुविधा सहित अन्य भत्ता सुविधा समेतको व्यवस्था गरिएको छ ।

उपमहानगरपालिकाका वडाध्यक्षका लागि मासिक २६ हजार, कार्यपालिका सदस्यलाई १५ हजार र सभाका सदस्यलाई ९ हजार पारिश्रमिक सहित अन्य भत्ता सुविधासमेतको व्यवस्था गरिएको छ ।

यस्तै प्रस्तुत विधेयकमा नगरपालिका कार्यपालिकाका सदस्यका लागि मासिक १३ हजार र सभाका सदस्यका लागि मासिक आठ हजार सहित अन्य भत्ता सुविधा समेतको व्यवस्था गरिएको छ ।

यस्तै गाउँपालिकाका वडाध्यक्षका लागि २० हजार, कार्यपालिकाका सदस्यका लागि मासिक १२ हजार र सभाका सदस्यका लागिसमेत मासिक ७ हजारसहित अन्य भत्ता सुविधासमेतको व्यवस्था गरिएको विधेयकमा उल्लेख छ ।
रासस

प्रकाशित मिति : १६ जेष्ठ २०७५, बुधबार ००:००