१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला आकांक्षी प्रति दलहरुको अविश्वास



जुम्ला, ५ वैशाख । यहाँको नगरपालिका र गाउँपालिका प्रमुख पदका महिला आकांक्षी प्रति दलहरुको अविश्वास रहेको महिला नेतृत्वले आरोप लगाएको छ ।

स्थानीय तहको निर्वाचनमा वडा, गाउँ तथा नगरपालिकाको प्रमुख पदमा थोरै महिलाले मात्र आकांक्षा राखेको पाइन्छ । तथापि प्रमुख पदका लागि आफ्नो उम्मेदवारी रहने प्रस्ताव राख्दा पार्टीले नै विश्वास गर्न छोडेको उनीहरुको गुनासो छ ।

नेपाली काँग्रेस, जुम्लाका महाधिवेशन प्रतिनिधि कान्तिका सेजुवालले सदियौँदेखि कर्णालीका महिलाको राजनीतिमा पहुँच नभएको बताइन् । महाधिवेशन प्रतिनिधि सेजुवालले मुख्यतः पुरुषवादी सोच नै महिला सशक्तीकरण र प्रगतिको बाधक भएको आरोप लगाइन ।

“कर्णालीका महिलाले अवसर पाए काम गर्न सक्छन्,” उनले भनिन् । त्यही सन्देश दिन वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा आफूले चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिन लागेको सेजुवालको भनाइ छ । हार्ने ठाउँमा मात्र महिलालाई अवसर दिने गलत संस्कार सबै पार्टीले हटाउन जरुरी भएको उनले बताइन् ।

प्रमुख पदमा महिलाको उम्मेदवारी कम हुने नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लक्ष्मीकन्या बुढा बताउछिन् । महिलालाई अघि बढाउन पार्टीले सहयोग नगरेको उनको आरोप छ ।

“वडा अध्यक्षमा समेत महिला आउने अवस्था छैन भनेर बहाना बनाउने काम भइरहेको छ,” बुढाले भनिन्,  “आत्मबल घटाउने काम मात्र भएको छ । त्यसो भए राज्यले व्यवस्था गरेको ३३ प्रतिशत महिला सहभागिता हुनै सक्दैन र आरक्षण बाहेकका अन्य पदमा समेत महिलाको प्रतिनिधित्व हुने आशा हराउँदै जान्छ ।”

नेकपा (एमाले) जुम्लाका पूर्वजिल्ला कमिटी सदस्य मेनका रेग्मी दलहरुले महिलालाई स्थान नदिएको बताउछिन् । “दलहरुमा अझै पनि पितृसत्तात्मक सोच छ, महिलालाई कुनै पनि दलले प्रमुख पदमा ल्याउन प्रस्ताव अघि सारेका छैनन्,” रेग्मीले भनिन् । प्रमुख पदमा आउन महिलाले अझै संघर्ष गर्नुपर्नेमा उनले जोड दिइन् ।  रासस

प्रकाशित मिति : ५ बैशाख २०७४, मंगलबार ००:००