१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रकम अभावले तटबन्ध निर्माणको काम प्रभावित



 

७ जेठ, भीमदत्तनगर ।
रकम अभावका कारण कञ्चनपुरको महाकाली नदी कटान नियन्त्रणका लागि निर्माणाधीन तटबन्ध निर्माणको काम प्रभावित बनेको छ । सिँचाइ मन्त्रालयमार्फत अर्थमन्त्रालयलाई तटबन्ध निर्माणका लागि अपुग ४५ करोड माग गरेको छ महिना बितिसक्दा पनि रकम निकासा नहुँदा निर्माण कार्य प्रभावित बनेको हो ।

केही समयअघि २ करोड निकासा भएको जानकारी दिँदै जनताको तटबन्ध फिल्ड कार्यालय नं ७ भीमदत्तनगरका प्रमुख प्रचण्डदेव विष्टले रकम अभावका कारण महाकाली नदीमा तटबन्ध निर्माण कार्य प्रभावित बनेको बताए ।

“महाकाली नदीमा साढे तीन किलोमिटर तटबन्धका लागि ६० करोडको ठेक्का सम्झौता भएको थियो ।” तटबन्ध कार्यालयका प्रमुख विष्टले भने, “निर्माण कम्पनीलाई दुई चरणमा १५ करोड दिए पनि बाँकी रकम समयमा नआउँदा कामले गति लिन सकेन ।”

थप बजेटका लागि अर्थमन्त्रालयमा ४५ करोड माग गरेर फायल पठाइएको भए पनि अहिलेसम्म निकासा हुन नसकेको उनले जानकारी दिए । “महाकाली नदीको वारी भुजेला, ओदाली, पिपरिया, पारीका पनि विभिन्न स्थान निकै जोखिमयुक्त छन् ।” उनले भने– मन्त्रालय, विभागबाट पनि त्यसको अनुगमन भएर ठेक्का अगाडि बढाइएको भए पनि बजेट आउन सकेको छैन ।

यसअघि पनि वर्षात्का बेला जोखिमयुक्त स्थानमा सेना, प्रहरी र स्थानीयको सहयोगमा अस्थायी तटबन्ध बनाएर क्षति टारिएको थियो । कञ्चनपुरका ३ वटा र कैलालीको एउटा गरी चार वटा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गर्दै आइरहेको जनताको तटबन्ध कार्यालयले हाल कञ्चनपुरको महाकाली नदी, दोदा र मोहना नदीका साथै कैलालीको खुटिया नदीमा तटबन्ध निर्माण कार्य गरिरहेको छ ।

मोहना नदी कटान नियन्त्रणका लागि जनताको तटबन्ध कार्यालयले चार अर्बको डिपिआर तयार गरेर माथिल्लो निकायमा पेश गरेको छ । चालू आवमा मोहनामा एक किलोमिटर तटबन्ध बन्दैछ । कैलालीको खुटिया नदीमा पनि हालसम्म चार करोड खर्चेर एक किलोमिटर लामो तटबन्ध निर्माण गरेर नदी छेउको बस्ती सुरक्षित गरिएको छ ।
रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार ००:००