१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणगढ–मुग्लिन सडकखण्डः बायोइन्जिनियरिङको काम तीव्र



 

४ जेठ, चितवन ।
मनसुन शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा बायोइन्जिनियरिङको कामलाई तिव्रता दिइएको छ । सो सडक विस्तारका क्रममा भित्तो काटिएकाले पहिरो खस्न सक्ने ठाउँमा खुकुलो माटो रोक्न बायोइन्जिनियरिङ गरिँदै छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार सन् २०१६ र २०१७ मा ११० ठाउँमा बायोइन्जिनियरिङको काम सम्पन्न गरिएको थियो । यस वर्ष थप ३८ ठाउँमा बायोइन्जिनियरिङको काम गरिँदैछ । सो सडकका १४८ ठाउँमा बायोइन्जिनियरिङको काम गर्ने योजना रहेको छ ।

वातावरण विज्ञ पाठकका अनुसार जुटको जाली बनाएर माटो रोक्ने जुटनेटिङ, बाँसको पर्खाल लगाउने, घाँस लगाउने, रुख बिरुवा रोप्ने, बाँस रोप्ने, बोटबिरुवाको मुठो बनाएर एकै ठाउँमा रोप्ने, रुखको बीउ रोप्ने, भिरालो जमिन मिलाउने लगायतका कार्य बायोइन्जिनियरिङभित्र पर्छ ।

बाँससँगै सिमाली, आँक, सजिवन, शिरिष, बाबियो, बकाइनो जस्ता चाँडै सर्ने र हुर्कने बिरुवा रोपिने गरिन्छ । रुख बिरुवा लगाउने कार्य मनसुन शुरु भएपछि नै गर्नुपर्ने हुन्छ भने अन्य कार्य अरु समयमा पनि गर्न सकिन्छ ।

हाल सो सडकको सेती दोभान र केराबारीमा काम भइरहेको वातावरण विज्ञ पाठकले जानकारी दिए । बायोइन्जिनियरिङको काममा गएको दुई वर्षमा ७७ लाख खर्च भइसकेको छ भने यस वर्ष पनि करिब १४ लाख हाराहारीमा खर्च हुने अनुमान गरिएको छ ।

कतिपय ठाउँ थपिएपछि बायोइन्जिनियरिङ सहितका पहिरो रोक्ने कामका लागि सडकलाई दुई भागमा विभाजन गरेर दुई ठेकेदार कम्पनीलाई कामको जिम्मा लगाइएको छ । उनीहरुले पनि बायोइन्जिनियरिङ सहित पहिरो रोक्ने काम गरिरहेका छन् ।

सो सडकको विस्तारको काम अन्तिम चरणमा पुगेको छ । वर्षात्को समयमा सडक राम्रो भए पनि भित्तोबाट पहिरो नखसोस् भन्नका लागि बायोइन्जिनियरिङको काम गरिएको हो ।
रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७५, शुक्रबार ००:००