७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की



अजयकुमार साह
१ जेठ, महेन्द्रनगर– धनुषा ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति प्रदेश नं २ का प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ ।

मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यले खुलेर विरोध जनाएका थिए भने मधेश केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा नेपालले बचाउ गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री राउतले प्रदेश २ केन्द्र सरकारको विभेदका कारण पछि परेको र विभेदकारी संविधानका विरुद्ध आफूहरुको संघर्ष जारी रहेको अभिव्यक्ति दिएका थिए ।

बैठकमा संघीय समाजवादी फोरमका रामआशिष यादवले मुख्यमन्त्रीले प्रदेशको गरिमा र जनताको भावनाअनुसार बोलेको भन्दै यसमा टीका टिप्पणी नगर्न आग्रह गरे । उनले मुख्यमन्त्रीको भनाइप्रति भइरहेको टीका टिप्पणी तर्कसंगत नरहेको बताए ।

राजपा नेपालकी डिम्पलकुमारी झाले मुख्यमन्त्रीको अभिव्यक्ति प्रदेश २ को जनताको पक्षमा रहेको बताउँदै यसप्रति टाउको नदुखाउन केन्द्र सरकारलाई आग्रह गरे । कांग्रेसका शिवचन्द्र चौधरीले मुख्यमन्त्री राउतको अभिव्यक्ति राष्ट्र हीतमा नभएको बताउँदै भने “गाजल आँखामा लगाउँदा राम्रो देखिन्छ, त्यही गाजल अनुहारमा लगायो भने कालोमोसो हुन्छ ।”

उनले प्रदेशको समस्या विदेशी पाहुनाको अगाडि राख्नु कतिको उचित हो भनेर प्रश्न गरे । कांग्रेसकै शोभा लामाले सार्वजनिक पद धारण गरेका व्यक्तिले अभिव्यक्ति दिदाँ राष्ट्र हीतमा दिनुपर्ने बताए । नेकपा एमालेकी मञ्जु यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन समारोहमा राष्ट्रिय गान किन नबजाएको भनेर प्रश्न गरिन् ।

“भारतीय प्रधानमन्त्री मोदीको यो औपचारिक कार्यक्रम थियो, त्यसमा राष्ट्रिय गान किन बजाइएन, यो कस्को गल्ती हो रु” भनी उनले प्रश्न गरिन् । बैठकमा सदस्यहरुले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणबारे प्रदेशसभामा जानकारी नगराएकोमा सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण तयारी, स्वागत र सत्कारमा लागेको खर्चको हिसाब बुझाउन माग गर्दै उनीहरुले भ्रमणका बेला भएका खर्चको यथार्थ विवरण बुझाउन सरकारसंग माग गरे । यसैगरी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका सदस्यहरुले भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्वीटमार्फत गरेको आपत्तिजनक अभिव्यक्तिप्रति आपति जनाए ।

दुई देशबीच सदियौँदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पु¥याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको उनीहरुले बताए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला भारतीय सांसद आजादले नेपालको अखण्डतामाथि प्रहार हुने अभिव्यक्ति ट्वीट गरेका थिए ।

उनीहरुले अभिनन्दन कार्यक्रममा मैथिली भाषा प्रयोग नगरिएको र उपमहानगरपालिकाले अभिनन्दन गर्दा प्रदेश सरकारका मन्त्रीले कार्यक्रम उद्घोषण गर्नु कतिको उचित हो भनी प्रश्न गरे । जनकपुर उपमहानगरपालिकाले भारतीय प्रधानमन्त्री मोदीलाई गरेको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले उद्घोषण गरेका थिए ।
रासस

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलबार ००:००