३१ वैशाख, काठमाडौं ।
भूकम्पले क्षतिग्रस्त धरहराको पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नै गर्ने भएको छ । धरहरा पुनःनिर्माणको शिलान्यास असारमै गर्ने गरी तयारी गरिएको प्राधिकरणले जनाएको छ ।
धरहरा पुनःनिर्माणका लागि प्राधिकरणले आजको गोरखापत्र दैनिकमा टेण्डर आह्वानसमेत गरेको छ । धरहरा पुनःनिर्माणका लागि करीब ४ अर्ब लाग्ने लागत अनुमान गरिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए ।
“एकतीस दिन टेण्डर फारम भर्ने अवधि तोकिएको छ, छनोट गर्न १५ दिन लाग्छ, असार तेस्रो सातासम्म धरहरा पुनःनिर्माणका लागि शिलान्यास हुन्छ” उनले भने ।
शिलान्यास भएको दुई वर्षमा धरहरा पुनःनिर्माण भइसक्ने प्राधिकरणले जनाएको छ । यसअघि सरकारले ‘हाम्रो धरहरा हामी आफैँ बनाउँछौँ’ अभियान शुरु गरेको थियो । अभियान अन्तर्गत २४ करोड संकलन भएको छ ।
धरहराको पुनःनिर्माण नेपाल टेलिकमले गर्ने प्रतिबद्धता जनाए पनि अढाइ वर्षपछि हात झिकेको थियो । टेलिकमले आफैँ पुनःनिर्माण नगरे पनि १ अर्ब सहयोग गर्ने प्रतिबद्धता भने जनाएको छ । बाँकी रकम सरकारले व्यहोर्ने सहसचिव मानन्धरले बताए ।
रासस
प्रतिक्रिया