७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४२ सामुदायिक विद्यालय अंग्रेजी माध्यममा पढाइँदै



३० वैशाख, डडेल्धुरा ।
गाउँपालिकामा जनप्रतिनिधि आएपछिको पहिलो शैक्षिकसत्रमा यहाँका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन शुरु गरिएकाले यहाँका अभिभावक खुशी भएका छन् ।

स्थानीय सरकारले गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने निर्णय गरेसंगै जिल्लामा रहेका २४८ सामुदायिक विद्यालयमध्ये यो शैक्षिकसत्रमा ४२ वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन शुरु गरिएको हो ।

यो शैक्षिकसत्रबाट नै अजयमेरु गाउँपालिकामा रहेका ३२ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु भएको छ भने भागेश्वरका गाउँपालिकामा रहेका ३० मध्ये नमूनाका रुपमा यो शैक्षिकसत्रबाट आठ विद्यालयका साथै परशुराम नगरपालिकाका ६४ विद्यालयमध्ये दुई वटामा अंग्रेजी भाषामा पढाइ भइरहेको जिल्ला शिक्षा अधिकारी वसन्तकुमार खत्रीले बताए ।

गाउँपालिकामा निजी विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन थालेपछि बालबालिकालाई अभिभावकले समुदायिक विद्यालयमा भर्ना गर्न छाडेका थिए । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्न थालेपछि स्थानीय सरकारले त्यहाँ अंगे्रजी माध्यमबाट पढाउन शुरु गरेको अजयमेरु गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं २ का वडाध्यक्ष शिवराज भट्टले जानकारी गराए ।

अजयमेरुका सबै विद्यालयका शिक्षकलाई अंगे्रजी माध्यमबाट पढाउनका लागि तालीमको व्यवस्था गरिएको र कमजोर रहेको विद्यालयमा शिक्षकको व्यवस्था गर्ने गरी अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको गाउँपालिका अध्यक्ष उमेश भट्टले उल्लेख गरे ।

पछिल्लो समयमा सरकारी तथा सामुदायिक विद्यालयमा पढाइको गुणस्तरमा सुधार ल्याउनका लागि स्थानीय सरकारले प्रयास गरेको छ । विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ, शिक्षकलाई तालीम, इलोक्ट्रोनिक्स हाजिरी, नियमित अनुगमनजस्ता कार्यले पढाइको स्तर उकास्न प्रयास भइरहेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले जानकारी गराए ।

उक्त गाउँपालिकाको बैठकले शिक्षामा सुधार ल्याउन र यो शैक्षिकसत्रमा नमूनाका लागि आठ वटा विद्यालयलाई छनोट गरी हरेक विद्यालयलाई एक लाखसम्मको आर्थिक सहयोगसमेत उपलब्ध गराएको छ ।

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु भएपछि बालबालिकाको संख्यामा वृद्धि भएको सम्बद्ध विद्यालयका शिक्षकको भनाइ थियो । अभिभावकले निजीविद्यालयबाट सामुदायिक विद्यालयमा भर्ना गराउन थालेकाले निजी विद्यालयका बालबालिकाको संख्या घटिरहेको भागेश्वर–४ बगरकोटका बासिन्दाले बताए । शिक्षकले मिहेनत र अनुशासित भई बालबालिकालाई पढाउने हो भने पहिलो शैक्षिकसत्रमा नै राम्रो सुधार आउने अभिभावकको भनाइ थियो ।

अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएका विद्यालयमा केही पुराना शिक्षक भए पनि उनीहरुको अनुभव र क्षमताले बालबालिकामा सुधार आउने र निजी विद्यालयको गुणस्तर सामुदायिक विद्यालयबाट नै पाउने निर्वाचित जनप्रतिनिधिले जनाए ।
रासस

प्रकाशित मिति : ३० बैशाख २०७५, आइतबार ००:००