१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीयवासीले बनाए अस्पताल



२८ वैशाख । गाउँमा स्वास्थ्य सेवा नहुँदा उपचारको अभावमा ज्यान गुमाउन बाध्य भएका रुकुम पूर्वका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल बनाएका छन् । भुमे गाउँपालिका–३ को बिकट बस्ती झुम्लाबाङका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल स्थापना गरेका हुन् ।

गाउँमा महिला सुत्केरी हुन नसकेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बिकट भएका कारण बाटोमै मृत्यु हुन थालेपछि आफैँले अस्पताल स्थापना गरेको झुम्लाबाङ– भेलेज फाउण्डेशनका अध्यक्ष रामबहादुर बुढाले बताए ।

भुमे गाउँपालिकाको केन्द्रबाट चार घण्टाको पैदल दूरी लाग्ने झुम्लाबाङका १ सय ६५ घरधुरीले श्रमदान गरेर भवन निर्माण गरेका हुन् । औषधि र स्वास्थ्यकर्मीको पारिश्रमिकका लागि वैदेशिक रोजगारीमा गएका स्थानीयवासीहरूले आर्थिक सहयोग पठाएको बुढाले बताए ।

राज्यको कुनै पनि सहयोग नरहेको यो अस्पतालमा अहिले दैनिक रुपमा ५ देखि ७ जना बिरामीले सेवा लिइरहेका छन् । तीन–तीन महिनाको फरकमा विदेशी विशेषज्ञ डाक्टरसहितको टोलीले यहाँ निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालका प्रमुख शिवकुमार बुढाले बताए । गाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्नका लागि यहाँबाट वैदेशिक रोजगारीमा गएका ८० जनाले सहयोग गरेको बताएको छ ।

स्वास्थ्य केन्द्र निर्माण, औषधि तथा स्वास्थ्यकर्मीको पारिश्रमिकमा अहिलेसम्म ५ करोड रुपैयाँभन्दा बढी खर्च खर्च भएको प्रमुख बुढाले बताए । यहाँका स्थानीयवासीले २०६९ सालमा झुम्लाबाङ भेलेज फाउण्डेशन नामक संस्थासमेत स्थापना गरेका छन् । रासस

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार ००:००