७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरहरा परिसरमा नयाँ संरचना बनाउन रोक



२६ वैशाख, काठमाडौं ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र काठमाडौं महानगरपालिकाबीच धरहरा परिसरमा नयाँ संरचना निर्माणमा रोक लगाउने सहमति भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा बुधबार सिंहदरबारमा बसेको प्राधिकरण, महानगरपालिका, पुरातत्व विभाग, गुठी संस्थानसहित सरोकार भएका निकायको संयुक्त बैठकले धरहराको पुनःनिर्माणमा सुन्दरतालाई असर पार्नसक्ने भन्दै यस्तो निर्णय गरेको हो । अर्को सूचना जारी नभएसम्मका लागि धरहरा परिसरमा निर्माण भइरहेका संरचना रोक्का गर्ने निर्णय भएको हो ।

संस्थानले आफ्नो हकभोगमा रहेको जग्गामा ठेक्कापट्टा लगाएको भए त्यसलाई तोड्नसमेत बैठकले निर्देशन दिएको प्रमुख कार्यकारी अधिकृत भुसालले बताए । बैठकमा संस्थानका निमित्त प्रमुख दीपकबहादुर पाण्डेले आफ्नो हकभोगको जग्गा प्रयोग गर्न पाउनुपर्ने धारणा राखे ।

बैठकमा महानगरपालिकाले धरहरा परिसरमा भाडामा लगाएका सटर १५ दिनभित्र खाली गराउने सहमति भएको छ । गोश्वारा हुलाक लगायत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल राष्ट्र बैंकअन्तर्गत रहेका सरकारी कार्यालयलाई स्थानान्तरणका लागि अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए ।

बैठकमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख कार्यकारी अधिकृत यादव कोइराला, प्राधिकरणका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, विभागका महानिर्देशक भेषनारायण दाहाल, संस्थानका निमित्त प्रमुख दीपकबहादुर पाण्डे, महानगरपालिका वडा नं २२ का अध्यक्ष चिनकाजी महर्जन लगायतको सहभागिता थियो ।
रासस

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार ००:००