५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेख गाउँपालिका पशुपालनमा आत्मनिर्भर बन्दै



१६ चैत, अछाम ।
मेल्लेख गाउँपालिका पशुपालनमा करिब आत्मनिर्भर बनेको छ । यहाँ सबैजसो वडाका किसान पशुपालनका हिसाबले निकै अगाडि भएका कारण गाउँपालिका नै पशुपालन र मासुजन्य वस्तुमा करीवकरीव आत्मनिर्भर अवस्थामा देखिएको हो ।

मेल्लेख गाउँपालिकामा आवश्यक बाख्रा र भैँसी तथा त्यसबाट प्राप्त हुने मासु र दूधजन्य वस्तुको बाहिरबाट आयात बन्दजस्तै रहेको बताइएको छ । १० वटै स्थानीय तहमध्ये पशुपालनका लागि भूगोल, भौगोलिक, वातावरणीय रुपमा सन्तुलित र बाख्रापालनका दृष्टिकोणले निकै उपयुक्त क्षेत्र भएका कारण मेल्लेख गाउँपालिका क्षेत्रभित्रका किसान पशुपालन गरेर आत्मनिर्भर भएको गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख कृष्णबहादुर रोकायाले बताए ।

गाउँपालिकाको पशु सेवा शाखाका अनुसार प्रत्येक वडाका कृषकसंग तीन हजार बढी बाख्रा रहेका र वडा नम्बर १ र २ ऋषिदहमा भेडापालन समेत भइरहेको छ । गाउँपालिकाभरि ३० हजारको हाराहारीमा बाख्रापालन भइरहेको छ भने दूधजन्य उत्पादनका लागि पालिने पशुवस्तुको समेत राम्रो सम्भावना रहेको रोकायाको भनाइ छ ।

गाउँपालिकाले एक गाउँ एक उत्पादन नीति लिएर पशुपालनलाई पनि उच्च महत्व दिएर काम कार्य अघि बढाइरहेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताए । गाउँपालिका, पशु सेवा कार्यालय र शाखा मार्फत विभिन्न अनुदान सहयोग र आवश्यक प्राविधिक तथा व्यावसायिक ज्ञान प्रदान गरिएपछि किसानलाई पशुपालनका लागि निकै सहज भएको बताइएको छ ।

यस वर्ष पनि गाउँपालिकाबाट पशु सेवातर्फ झण्डै २० लाख रकम विनियोजित गरी आवश्पक प्रचारप्रसार, घाँस विकास, औषधि खरिद र किसानलाई अनुदान सहयोग लगायतका कार्यक्रम अघि बढाएको गाउँपालिकाले जनाएको छ ।
रासस

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार ००:००