१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियान सुरू



४ फागुन, भक्तपुर ।
भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगर क्षेत्रका छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरेको छ ।

जथाभावी छाडा छोडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस् भनेर तालीम प्राप्त पशुविज्ञको टोली तथा नगरपालिकाका ९ जना कर्मचारीको सहयोगमा कुकुरलाई समातेर बन्ध्याकरण गर्ने तथा रेबिजविरुद्ध खोप लगाइदिने अभियान थालेको हो ।

अभियान अन्तर्गत समातिएका कुकुरलाई गःपलीस्थित पशु स्वास्थ्य क्लिनिकमा लगेर बन्ध्याकरण गर्ने र खोप लगाउने कार्य भइरहेको अभियानका संयोजक एवं वडा अध्यक्ष राजकृष्ण गोराले जानकारी दिए ।

उनका अनुसार कुकुरलाई पशु चिकित्सक डा एकता पाण्डे र डा आशिष राई तथा प्राविधिक मुकेश तुल्सी बाख्यो र बुद्धिराम रेग्मीको टोलीले उपचार गर्ने र उपचारपछि समातिएकै स्थानमा छोडिने गरेको छ ।

यसअघि नगरप्रमुख सुनिल प्रजापतिले सो अभियानको भक्तपुर दरबारस्क्वायरमा स्थलगत अवलोकन गर्दै कुकुरले नगरको रात्रिकालीन सुरक्षाको काम गरे पनि नगरमा अत्यधिक संख्यामा देखिएका कुकुरलाई रेबिज रोगबाट मुक्त गर्न तथा कुकुरको संख्या अनपेक्षित रुपमा बढ्नबाट रोक्न नगरपालिकाले बन्ध्याकरण तथा खोप अभियान सञ्चालन गरेको प्रष्ट पारे ।

“यो एउटा सकारात्मक पहल हो र यसमा दक्ष पशु चिकित्सक संलग्न छन्,” उनले भने, “यो अभियान नगरका सबै वडाका टोलमा सञ्चालन हुनेछ ।” पछिल्लो समय नगरका विभिन्न स्थानमा कुकुरको टोकाइबाट नगरवासी पीडित भएको गुनासो आइरहेको सन्दर्भमा नगरपालिकाले सञ्चालन गरेको यो अभियान निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ । पशु स्वास्थ्य र मानवीय स्वास्थ्य दुवैलाई ध्यानमा राखेर कार्यक्रम अघि बढाइएको कार्यक्रम संयोजक गोराले बताए ।

उनले रेबिज रोगबारे सर्वसाधारणलाई जनचेतना दिने र खोप लगाइएका कुकुरको पहिचान गर्न सजिलो होस् भनेर चित्रसहितका पर्चा र पोस्टर ठाउँठाउँमा राख्न लागिएको जानकारी दिए । अभियानमा संलग्न डा पाण्डेले समातिएका कुकुरलाई आधुनिक सुविधासम्पन्न क्लिनिकमा बन्ध्याकरणसहित उपचार गरिने बताए ।

“एउटा कुकुरलाई सामान्य शल्यक्रिया गरेर बन्ध्याकरण गर्न करिब ४५ मिनेट लाग्छ,” उनले भने, “खोप र बन्ध्याकरण गरिएका कुकुरलाई सर्वसाधारणले चिन्न सजिलो बनाउन घाँटीमा सुन्तला रङ्गको पेटी बाँध्ने तथा दाहिने कानको थोरै भाग काटिदिने गरेका छौँ ।”
रासस

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार ००:००