१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘गोकर्णेश्वरमा पानी वितरण नगरिए मेलम्चीको पानी उपत्यका पठाउन अबराेध गर्छाैं’



पूर्णप्रसाद मिश्र

१ फागुन, काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले ११औँ वार्षिकोत्सव मनाइरहेको छ । तर केयूकेएललाई सबैभन्दा बढी पानी पठाउने गोकर्णेश्वर नगरपालिका क्षेत्रकै धारामा एक महिनादेखि पानी झरेको छैन ।

वाग्मती नदीको पानी सुक्खा मौसममा पनि दैनिक ९ करोड लिटर पिउने पानी उपत्यकामा पठाउँछ । बत्तीमुनिको अँध्यारो भनेझैँ सुन्दरीजल, नयाँपाटी, गोकर्णेश्वर, जोरपाटी क्षेत्रको धारामा एक महिनाअघिदेखि खानेपानी आएको छैन ।

पानीको स्रोत भएकै क्षेत्रमा खानेपानी नपाइने भएपछि गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले स्वच्छ खानेपानीको व्यवस्था गरिदिने विषयलाई चुनावी मुद्दा बनाएका थिए । नगरपालिकाको वडा नं १ मा निर्वाचित अध्यक्ष राम मानन्धरले पानी नआउने वडाका सबै भागमा पानी पु¥याइदिने प्रतिबद्धता जनाएका थिए ।

पानी ल्याइदिने नाराले उहाँले चुनाव जिते पनि धारामा पानी नआउँदा वडा एवं नगरपालिकाले पानीका लागि कुनै पहल नगरेको स्थानीयवासीको आक्रोस छ । एक महिनायता धारामा पानी आउन छोडेको गोकर्णेश्वर– ८ का राजेश विष्टले बताए ।

गोकर्णेश्वरको सुन्दरीजलमा मेलम्चीको पानी सुरुङमार्फत पानी आउँदैछ । आएको पानी गोकर्णेश्वरकै १ नं वडास्थित महाँकालको पानी प्रशोधन केन्द्रमा झर्नेछ । मेलम्चीको पानी आएपछि दैनिक १७ करोड लिटर पानी प्रशोधन भई उपत्यकाका विभिन्न भागमा वितरण गरिने तयारी भएको छ ।

याङ्री र लार्के खोलाको पानी पनि आएपछि दैनिक थप ३४ करोड पानी पनि यहाँ प्रशोधन भएर वितरण गरिनेछ । तीनै खोलाको पानी आएपछि वाग्मतीको समेत पानी जोड्दा सुक्खा मौसममा पनि दैनिक कम्तीमा ६१ करोड लिटर पानी यही क्षेत्रबाट उपत्यकामा वितरण हुन्छ ।

यहाँको पानी यही वितरण नगरी शहरतिर लैजान लागिएकामा नगरपालिकाका निर्वाचित पदाधिकारी, प्रदेशसभा एवं प्रतिनिधिसभाको सांसदले पनि विरोध जनाउँदै आएका छन् ।

नगर प्रमुख सन्तोष चालिसे वाग्मतीको मुहान क्षेत्रका नागरिकलाई पानी पुगेपछि मात्र उपत्यकामा वितरण गर्न लिमिटेड, खानेपानी तथा ढल निकास विभागलगायत सरोकार भएका निकायमा अनुरोध गरिएको बताए ।

मेलम्चीको पानी आएपछि लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले अहिलेसम्म मुहान क्षेत्रका गोकर्णेश्वर, कागेश्वरी मनोहरा नगरपालिकामा पानी वितरणका लागि सञ्जाल बनाएको छैन । नगर प्रमुख चालिसे नगर क्षेत्रमा पानी वितरण नगरी तल लैजान नदिने तयारी स्थानीय सरकारले गरेको दाबी गरे ।

“वाग्मतीको पानी पनि गोकर्णेश्वरबाटै तल वितरणका लगिएको छ, यहाँ भएका धारामै एक महिनादेखि पानी आएको छैन,” उनले भने, “यहिँ प्रशोधन गरेर नगर क्षेत्रमै ठूला पाइप बिच्छ्याएर पानी लैजाँदैछ । यहाँका मानिसलाई पानी नदिए लैजान दिन्नौं ।”

यो क्षेत्रमा दोस्रो चरणमा पानी वितरण गर्ने भनिए पनि नगरपालिका र स्थानीयवासी यसमा सहमत हुन सकेका छैनन् । नगरपालिकाको जगडोल र आरुबारी क्षेत्रमा पुरानो वितरण सञ्जाल छैन । नयाँ वितरण सञ्जाल बनाउन सर्वेक्षण भइसकेको लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए ।

“सर्वेक्षण सकिए पनि बजेट नहुँदा जगडोल, आरुबारी क्षेत्रमा नयाँ वितरण सञ्जाल जडान गर्न सकिएको छैन” ढकालले भने, “थप २५ करोड रुपैयाँ लाग्ने देखिन्छ । बजेट भए ६ महिनामा वितरण सञ्जाल तयार हुन्छ ।”

मेलम्चीको सुरुङ सक्न २ सय ४० मिटरमात्र बाँकी हुँदा पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसे पनि यहाँको स्थानीय सरकारले पानी रोक्न सक्ने सम्भावना बढेको छ । पुरानो वितरण सञ्जालमा जोडिएका यहाँका स्थानीयवासी पनि पानी नआउने समस्याले गर्दा केयूकेएलप्रति आक्रोशित छन् । फागुनसम्म सुरुङको काम सकिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

सुरुङभित्र प्लास्टरलगायत ‘फिनिसिङ’ को काम सकी उपत्यकामा मेलम्चीको पानी वितरणको तयारी गरिएको छ । गोकर्णेश्वर–२, नयाँपाटीका स्थानीयवासी तीर्थ लामा मुहान क्षेत्रमै दैनिक पानी आउने व्यवस्था नगरिए संघर्ष समिति बनाएरै मेलम्चीको पानी उपत्यकामा वितरण रोक्ने दाबी गरे । रासस

प्रकाशित मिति : १ फाल्गुन २०७४, मंगलबार ००:००