१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडकका कारण झोलुङ्गे पुल जीर्ण बन्दा समेत संरक्षणमा ध्यान गएन



१८ पुस, बाजुरा ।
सडक सञ्जाल जोडिएपछि जिल्लाका अधिकांश झोलुङ्गे पुल जीर्ण बन्दै गएका छन् । सडक सञ्चालन भएपछि बाढी आएका बेला तर्नलाई बनाइएका झोलुङ्गे पुल पछिल्लो समय प्रयोगमा नआउने गरेको पाइएको छ ।

बाजुराको बूढीगंगा नगरपालिकामा पर्ने बाजुरा–अछाम जोड्ने इकडिगाडको पुल, बार्जुगाड र गुइगाड रहेका झोलुङ्गे पुल सडक निर्माणपछि प्रयोग गर्न छोडेको स्थानीयवासी तपेश रावलले बताए । साँफे मार्तडी सडक निर्माण नहुँदा आवतजावत गर्ने झोलुङ्गे पुलमा खिया लागेको छ ।

यस्तै, बडीमालिका नगरपालिकाको तिपाडीगाड, बूढीगंगा नदीको पुल र कोर्दालिगाडको पुलसमेत प्रयोगमा आउन छाडेका छन् । सडकका कारण झोलुङ्गे पुल प्रयोगमा नआएका हुन् । खिया लागेर पुल जीर्ण अवस्थामा छन् ।

करोडौँको लगानीमा निर्माण गरिएका पुल घाँसपात र गाई–गोरु चराउन जाने गोठालाले मात्र प्रयोग गर्ने गरेका छन् । घाँस काटेर वनपाखाबाट आउने जाने बाहेक अन्यले झोलुङ्गे पुल प्रयोग गर्न छोडेको बडिमालिका ६ का वडाध्यक्ष बलबहादुर थापाले बताए ।

सडक सञ्जाल जोडिएपछि जीर्ण बन्दै गएका पुलको मर्मतका लागि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन् । पुल जीर्ण बन्दै गएपछि स्थानीयवासी चिन्तित छन् । जीर्ण बन्दै गएका जिल्लाका अधिकांश झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले मर्मत–सम्भारका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने देखिन्छ ।

जिल्ला समन्वय समितिका संयोजक नरेन्द्रकुमार रोकायाले झोलुङ्गे पुल मर्मत–सम्भारका लागि आवश्यक बजेट विनियोजनका लागि सम्बन्धित नगरपालिका र गाउँपालिकाका प्रमुख/अध्यक्षलाई निर्देशन दिएको बताए ।
रासस

प्रकाशित मिति : १८ पुस २०७४, मंगलबार ००:००