३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा बैंक नहुँदा सेवाग्राहीलाई समस्या

लेखक स्थानीय खबर ३० आश्विन २०७४, सोमबार २ मिनेट पढाइ


तेह्रथुम
, ३० असोज । जिल्लाका चारवटा स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । दुई नगरपालिका र चारवटा गाउँपालिकामा अहिलेसम्म बैंक स्थापना हुन सकेको छैन । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु विकास बैंक स्थापना भएपनि सरकारी कारोबार गर्न स्वीकृति पाइएको छैन ।

सदरमुकाम म्याङलुङ्ग नगरपालिकामा मात्रै सरकारी कारोबार गर्ने नेपाल बैंक छ । पूर्वी आठराइ गाउँपालिकामा दुई वर्षअघि खुलेको नेपाल बंगलादेश बैंकलाई गत भदौदेखि मात्र सरकारी कार्यालयको कारोबार गर्ने अनुमति राष्ट्र बैंकले दिएको छ ।

जिल्लाका मेन्छ्यायेम, फेदाप र छथर गाउँपालिकामा अहिलेसम्म एउटा पनि बैंक खुलेको छैन । बैंक नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत समस्या भएको छ । स्थानीय तहको निर्वाचन भई केन्द्रको सबै अधिकार गाउँ आउँदासमेत कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको आठराइ छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

बैंकको कामकै लागि चार घण्टासम्म पैदल हिँडेर सदरमुकाम आउन बाध्य हुनुपर्ने अवस्था अझै कायमै रहेको छथरवासीको गुनासो छ । गाउँमा बैंक छैन । आर्थिक कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले वृद्धभत्ता, निवृत्तिभरण लगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ ।

स्थानीय तहमा बैंक स्थापना भइनसक्दा स्थानीयवासीले समयमै भुक्तानी पाउन सकेका छैनन् । सरकारले गत चैत २९ गते सबै स्थानीय तहमा शाखा खोल्न बैंकलाई निर्देशन दिएको थियो । पूर्वाधार अभाव, सुरक्षा, वित्तीय संकट लगायत विभिन्न कारण देखाएर बैंकले शाखा स्थापनामा ढिलाइ गरिरहेका छन् ।

स्थानीय तहभित्र काम गर्ने सबै क्षेत्रका कर्मचारी, शिक्षकको तलबसमेत गाउँपालिकामै गएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकको तलब भत्ता, सामाजिक सुरक्षा भत्तालगायत रकम निकासा गर्नसमेत झन्झट भएको स्थानीय तहका कर्मचारीले बताएका छन् ।

“प्रक्रिया सबै गाउँमा मिलाउनुपर्छ, पैसा निकाल्न सदरमुकाम आउनु पर्छ,” फेदाप गाउँपालिकाका कार्यकारी अधिकृत सुमन लिङ्देनले भने । गाउँपालिकामा कर्मचारी व्यवस्थापन समेत भइनसकेको अवस्थामा पहिलेभन्दा अहिले बढी समस्या भोग्नुपरेको उनको भनाइ छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी रकम निकासा गर्न जिल्लातिर आउने गरेका छन् । बैंक नभएकाले आर्थिक कारोबार गर्न निकै कठिनाइ भएको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले बताए ।

गाउँपालिकामा बैंकको असुविधा भएपछि कर्मचारी र जनप्रतिनिधि हप्तौँसम्म सदरमुकाममै देखिने गरेका छन् । जनप्रतिनिधि र कर्मचारी जिल्लामै केन्द्रित हुन थालेपछि सेवाग्राहीलाई सास्ती भएको छ ।
रासस

प्रकाशित मिति : ३० आश्विन २०७४, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।