३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोखालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता

लेखक स्थानीय खबर २७ बैशाख २०७४, बुधबार ३ मिनेट पढाइ

शरद शर्मा । काठमाडौं, काठमाडौं महानगरपालिकासंग जोडिएको टोखा नगरपालिका पनि यसपटकको स्थानीय निर्वाचनपछि काँचुली फेर्ने पर्खाइमा रहेको छ ।

झोर महाङ्काल, टोखाचण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोंगबु पाँच गाविस जोडिएर २०७१ सालमा घोषणा गरिएको टोखा नगरपालिका आगामी आइतबार हुने निर्वाचनबाट काँचुली फेर्ने पर्खाइमा रहेको छ ।

पूर्व बूढानीलकण्ठ, पश्चिम तारकेश्वर, उत्तरमा नुवाकोट र दक्षिणमा काठमाडौं महानगरसंग जोडिएको यस टोखालाई अब निर्वाचित हुने जनप्रतिनिधिको काँधमा समृद्ध सुविधासम्पन्न सहर ९स्मार्टसिटी० बनाउने पहिलो योजना रहने छ ।

यहाँका नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवारले टोखालाई स्मार्टसिटीको रुपमा विकास गदै ऐतिहासिक पर्यटकीय धरोहरको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

टोखामा धेरै पर्यटकीय क्षेत्र भएकाले तिनलाई संरक्षण गरी टोखा नगरीलाई पर्यटकीयस्थल बनाउने उनीहरुको योजना रहेको छ । नेपाली कांग्रेसबाट प्रमुख पदको उम्मेदवार भएका हरिहर अधिकारीले टोखा आफैँमा पर्यटकीय क्षेत्र भएको यहाँका धार्मिकस्थल, पर्यटकीयस्थल र ताल तथा पोखरीलाई संरक्षण गरी पर्यटकीय क्षेत्र बनाउने बताए ।

“यहाँका धेरै पर्यटकीय क्षेत्र ओझेलमा परेका छन्” उनले भने, “ती ठाउँको संरक्षण र प्रबद्र्धन गरी टोखालाई पर्यटकीय क्षेत्र बनाइने छ ।” उनले आफ्ना १९ बुँदे घोषणापत्रमा गोंगबुमा सडक विस्तार गर्ने, झोर महाकाङ्लमा कृषि क्षेत्र बनाउने योजना रहेका छन् ।

काठमाडौँ जिल्लाको सबैभन्दा बढी भूकम्पबाट प्रभावित यस नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई भूकम्पबाट क्षतिग्रस्त गोंगबुलाई व्यवस्थित गर्नुपर्ने अर्को चुनौती समेत रहेको छ भने खानेपानी र सडक विस्तार पनि यहाँका मुख्य समस्या रहेका छन् । निर्वाचित हुने जनप्रतिनिधिले यिनै कुरालाई लिएर आफ्नो प्रमुख चुनावी मुद्दा बनाएका छन् ।

नेकपा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार प्रकाश अधिकारीले समृद्ध टोखासँगै यहाँका पर्यटकीय क्षेत्रको विकासमा पनि आफू लाग्ने बताए ।

उनले यहाँका ओझेलमा परेका प्राकृतिक सम्पदा र पर्यटकीय क्षेत्रको संरक्षण गर्दै टोखामा बाहिरबाट पर्यटन भित्र्याउन सकिने बताए ।

महानगरसँग जोडिएको टोखाको बासस्थानका लागि उपयुक्त रहेकाले सडक विस्तार र खानेपानी उपलब्ध गराउन आफ्नो ध्यान जाने उनको योजना छ ।

नेकपा माओवादी केन्द्र तर्फबाट उम्मेदवार बनेका प्रमुखका उम्मेदवार कल्पना शर्माले पनि टोखालाई सुन्दर नगरीको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले गोंगबु क्षेत्रका भूकम्प पीडितलाई सहयोग गर्ने पनि आफ्नो मुख्य योजना रहेको उल्लेख गर्नुका साथै खानेपानी सडक विस्तारलाई पनि ध्यान दिने बताइन् ।

टोखा नगरपालिका–६ का स्थानीय दिपेन्द्र केसीले अब जित्ने जनप्रतिनिधिले विकसित सहरको रुपमा विकास गर्नुपर्ने बताए । उनले महानगरसँग जोडिएको सहर भएकाले सडक विस्तारलाई प्रमुख योजनाका साथ लैजानुपर्नेमा जोड दिए ।

झोर महाकाङ्लको बौडेश्वर, टोखा चण्डेश्वरीको सपनतीर्थ, टोखा सरस्वतीको भूतखेल, धापासीको बसुन्धरा देवी, गोंगबुको मनोहर तीर्थ महेन्द्रेश्वर, महादेवबीच विनायक गणेश यहाँका प्रमुख पर्यटकीय स्थल हुन् ।

यसैगरी सपनतीर्थ, चण्डेश्वरी, तलेजु, इन्द्रायणी, सरस्वती बौडेश्वर, थनेलाक्षी, कोनेलाक्षी, धापासी, झोरमहाङ्काल यहाँका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थल हुन् । यी धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने नवनिर्वाचित जनप्रतिनिधिको अभिभारा रहेको छ ।

अट्ठाइस हजार १७४ मतदाता रहेको यस नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ५७ जना निर्वाचित हुनेछन् । ११ वडा रहेको यस नगरपालिका प्रमुख १४, उपप्रमुखमा नौ जनासहित २६१ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराए । उनका अनुसार वडा नं २ र ६ मा दलित महिला सदस्यमा नेपाली कांग्रेसबाट प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित भएपछि ५५ जनाले आइतबार हुने निर्वाचनमा बाजी मार्नेछन् ।
यहाँ महिलाको जनसङ्ख्या ५० हजार ७०९ र पुरुष ४८ हजार ३२३ गरी ९९ हजार ३२ जनसङ्ख्या मध्ये नब्बे प्रतिशत साक्षर रहेका छन् ।

नगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले भर्खर बामे सर्न थालेको टोखा स्थानीय निर्वाचनपछि नयाँ स्वरुपमा विकास गरिने जानकारी गराए ।

उनले निर्वाचनपछि यहाँको पर्यटकीय र धार्मिक स्थलको विकास गर्न आवश्यक रहेको बताए ।

टोखाभित्र सरस्वती गहना पोखरी, गणेश पोखरी, सपनतीर्थ जस्ता ताल र पोखरीसमेत रहेका छन् । रासस

प्रकाशित मिति : २७ बैशाख २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।