३ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबैलाई समेट्ने योजना बनाउन आवश्यक



पुस २३, दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सबै क्षेत्रलाई समेट्ने खालको नीति तथा योजना बनाउन आवश्यक रहेको बताएका छन् ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगले दमौलीमा आयोजना गरेको आवधिक योजना तर्जुमाका लागि जिल्लास्तरीय छलफल तथा सुझाव सङ्कलन कार्यशालामा मन्त्री गुरुङले राष्ट्रिय, प्रदेश र स्थानीय तहको आवश्यकता समेट्ने तरिकाले योजना बन्नुपर्नेमा जोड दिए ।

मन्त्री गुरुङले प्रदेशको आफ्नै नीति तथा योजना नभएकाले गत वर्षको बजेट मध्यकालीन खर्च संरचना आधारमा प्रस्तुत गरिएको बताउँदै आगामी वर्षको बजेट बनाउँदा आवधिक योजनाका आधारमा बनाइने जानकारी दिए ।

उनले भने, ुअब प्रदेशले आफ्नै नीति तथा योजना बनाउन लागेको छ, आगामी वर्ष त्यसैमा टेकेर बजेट ल्याइनेछ ।’ गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रदेशको समृद्धिको आधार पर्यटन, उर्जा, कृषि र उद्योगलाई ध्यानमा राखेर प्रदेशको नीति तथा योजना बनाउनुपर्ने बताए ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले आर्थिक विकास र गरीबी निवारण, कृषि, सहकारी, वन तथा वातावरण, भौतिक पूर्वाधार, सामाजिक सेवा लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रदेशका सबै जिल्लाको वस्तुगत अवस्था र सरोकार पक्षको सुझावका आधारमा नीति तथा योजना निर्माण गरिने जानकारी दिए ।

सहभागी सरोकारवालाले कृषि, स्वास्थ्य, जलविद्युत्, पर्यटन, शिक्षा, खेलकूद, सिँचाइ, खानेपानी लगायतलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने सुझाव दिए । सो आयोगले म्याग्दी, बागलुङ र पर्वतमा आवधिक योजना तर्जुमाका लागि जिल्लास्तरीय छलफल तथा सुझाव सङ्कलन सम्पन्न गरिसकेको छ । रासस

प्रकाशित मिति : २३ पुस २०७५, सोमबार ००:००