७ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ७ः नीति कार्यक्रम पारित

लेखक स्थानीय खबर ३० जेष्ठ २०७५, बुधबार २ मिनेट पढाइ

 

३० जेठ, धनगढी । प्रदेश न ७ को सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम मंगलबार सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश प्रमुख मोहनराज मल्लले यही जेठ २६ प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि जेठ २७, २८ र २९ गते छलफल भएको थियो । नीति तथा कार्यक्रम सहित सम्बोधनका लागि प्रदेशसभाको बैठक प्रदेश प्रमुखलाई ‘धन्यवाद ज्ञापन गर्दछ’ भन्ने धन्यवादको प्रस्ताव बैठकमा निर्णयार्थ पेश हुँदा सर्वसम्मतिले पारित भएको हो ।

यसअघि नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले हामी नयाँ अभ्यासमा रहेकाले सिक्दै सिकाउँदै अघि बढ्नुपर्ने अवस्था रहेको परिप्रेक्ष्यमा प्रदेशको विकास र समृद्धिलाई सबैको साझा प्रयासबाट अघि बढाउने सोच सरकारको रहेको बताए ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम स्पष्ट रहेको र कुनै गोलमटोल नगरिएको उल्लेख गर्दै मुख्यमन्त्रीले समयमै बजेट खर्च हुन नसकी आसरमा मात्र आएर खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्न यससम्बन्धी विधि र कानून निर्माण गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

छलफलका क्रममा प्रतिपक्षी सदस्यले उठाएको चालु आवको बजेट रकम खर्चसम्बन्धी प्रश्नको जवाफमा मुख्यमन्त्री भट्टले प्रचलित ऐन कानूनको परिधिभित्र रहेर बजेट खर्च भइरहेको र यसको विवरण समयमै आउने बताए ।

नीति तथा कार्यक्रम माथिको बाँकी छलफलमा प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, चुनकुमारी चौधरी, अर्चना गहतराज र तारा लामा तामाङले भाग लिएका थिए । बैठकको प्रारम्भमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले गाउँसभा र नगरसभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ टेबुल गरेका थिए ।

आगामी असार १ गते अपराह्न ३ बजे बस्ने अर्को बैठकमा सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।