३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशका मन्त्रीसँग वित्तीय संघीयताबारे छलफल

लेखक स्थानीय खबर १८ फाल्गुन २०७४, शुक्रबार २ मिनेट पढाइ

१८ फागुन, सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वित्तीय संघीयता कार्यान्वयन सम्बन्धी मन्त्रीहरूसंग छलफल कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको आयोजनामा प्रदेशस्तरीय छलफल कार्यक्रम गरिएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित विभागीय मन्त्री सम्मिलित उक्त छलफल कार्यक्रममा कर्णाली प्रदेशको बजेट तर्जुमा, यहाँको प्राकृतिक स्रोत साधनको तथ्याङ्क एकिन, आर्थिक अधिकारको प्रयोग र त्यसका लागि आवश्यक नीति निर्माणका विषयमा अन्तरक्रिया भएको थियो ।

छलफलमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले वित्तीय समानीकरण र राजश्व बाँडफाँडमा संघीय सरकारले कर्णाली प्रदेशका लागि विशेष ध्यान दिन आग्रह गरे । योजनामन्त्री ज्वालाले कर्णाली प्रदेशलाई अन्य प्रदेश समान बजेट विनियोजन गरे न्याय नहुने पनि जनाए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशको मौलिकता सुहाउँदो वित्तीय नीति बनाउनुपर्ने सुझाव दिए । कुनैपनि संरचना नबनेको प्रदेशका लागि संघीय सरकारले बजेट विनियोजन गर्दा प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।

छलफलमा राष्ट्रिय योजना आयोगका तीर्थबहादुर राईले उत्पादनमा वृद्धि गर्न सकेको आधारमा नागरिकलाई कर लगाउनुपर्ने बताए । राईले प्रदेश विकासका लागि योजना बनाएर स्रोत खोज्नुपर्ने औँल्याए ।

कार्यक्रममा वित्तीय आयोगका सचिव बैकुण्ठ अर्यालले यहाँको आवश्यकता पहिचान गरी बजेट निर्माणको सुत्र तयार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । सचिव अर्यालले प्रादेशिक विकासको सोचको जिम्मेवारी प्रदेश सरकारको हुने र स्रोतको परिपूरण भने आयोगले गर्ने बताए ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, सामाजिक विकास मन्त्री दलबहादुर रावल र भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीसहित विभिन्न मन्त्रायलका सचिवहरू, सुर्खेत जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तह, प्रदेशको बजेट निर्माणका लागि विज्ञहरूसंगको सुझाव आवश्यक रहेको बताए ।

सुर्खेतमा साइरन जडान

यसैबीच, कर्णाली प्रदेशका शहरलाई सुरक्षित बनाउन यहाँको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा साइरन जडान गरिएको छ । कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउने मन्त्रिपरिषद्को निर्णयअनुसार वीरेन्द्रनगर नगरपालिका ६ प्रगतिनगर टोलमा साइरन जडान गरिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले साइरन जडानको विधिवत उद्घाटन गरे । “नगरपालिकाको प्रगतिनगरमा राखिएको सामुदायिक साइरन टोलका ६० जनाको मोबाइलमा सेट गरिएको छ,” मन्त्री भण्डारीले भने ।

टोलमा हुने चोरी, डकैती, लुटपाट तथा आपराधिक क्रियाकलाप र प्राकृतिक प्रकोप जस्ता घटनाहरू भएमा साइरनको कोड पुस गर्न मिल्ने उनले बताए । कोड पुस गरेलगत्तै साइरन बज्ने र छजनाको मोबाइलमा म्यासेजमा जाने पद्धति सेट गरिएको मन्त्री भण्डारीले बताए ।

उनका अनुसार सामुदायिक साइरन सेट गरिएकामध्ये ५ जना स्थानीयवासी र एउटा प्रहरीको मोबाइलमा म्यासेज जानेछ । कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक रणबहादुर चन्दले प्रदेशमा शान्ति सुरक्षा कायम राख्न सघाउ पुग्ने र यसले समृद्धिको आधार तयार गर्ने बताए ।
रासस

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।