७ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक वर्षदेखि दूषित खानेपानी उपभोग गर्दै धुलिखेल बासी

लेखक स्थानीय खबर ९ फाल्गुन २०७४, बुधबार २ मिनेट पढाइ

पेमा लामा
९ फागुन, धुलिखेल ।
बनेपा नगरपालिका ८ र ९ का बासिन्दाले १ वर्ष अगाडिदेखि नै खानेपानी संस्थान बनेपाले वितरण गरेको धारामा आएको दूषित पानी उपभोग गर्दै आएका छन् ।

९ नं वडा, शाही टोलमा पशुबध गरेर जथाभावी फोहोर फालेका कारण त्यस्तो समस्या बढ्दै गएको स्थानीय बासिन्दा बताउँछन् । बनेपा नगरपालिका ९ का मनुहरि पोटेले आफूहरुले एक वर्ष अगाडि देखि त्यस्तै फोहोर मिसिएर आएको दूषित पानी उपभोग गर्दै आएको बताए ।

“हामीले विगत १ वर्ष अगाडि देखि त्यस्तै फोहोर मिसिएको गन्हाएको पानी खाँदै आइरहेका छौँ, वडा कार्यालयमा पटक पटकभन्दा पनि हाम्रो कुराको सुनुवाइ भइरहेको छैन ।” पोटेले भने, “धाराको पानीमा कहिले जमेको रगतको डल्लो नै आउँछ, कहिले मासु र आन्द्राको डल्लो आउँछ ।”

सोही टोलकी निर्मला श्रेष्ठले ढल र खानेपानीको पाइप सँगै राखिएको कारण खानेपानी धारामा फोहोर मिसिएको बताइन् । “हामीले प्रयोग गर्ने खानेपानीको पाइप र ढलसँगै राखिएको छ, जसका कारण पनि इन्टेकमा फोहोर पसेर यस्तो समस्या खेप्नुपरेको हो, पाइपलाई छुट्याएर राख्नुप¥यो,” श्रेष्ठले भनिन्, “सो विषयमा जति पटक वडा कार्यालयमा भने पनि नसुने झैँ गरेर बसेका छन् ।”

बनेपा नगरपालिका ९ की शर्मिला प्रजापतिले हिँड्डुल गर्ने बाटामा नै भैँसी बाँध्ने र फोहोर गर्ने गरेका कारण समस्या व्यहोर्दै आएको समस्या सुनाइन् । “हिँड्ने बाटोमा भैँसी बाँधेर बाटो नै छेकिन्छ, कहिले फोहोरको डंगुर नै थुपारेर राखेको हुन्छ,” प्रजापतिले भनिन्, “जतिभन्दा पनि सुधार गर्दैनन्, उल्टै हामीलाई नै गाली गर्छन् ।” बधशाला व्यवस्थित गरी टोलको सरसफाइ गर्नका लागि नगर प्रमुखले तत्काल ध्यान दिनुपर्ने उनको भनाइ छ ।

नगरपालिका ८ र ९ को सिमानामा पर्ने दक्षुटोलस्थित खानेपानीको इन्टेक राखिएको ट्यांकीमाथि रहेको शाही टोलमा पशुबध गरेर फालिएको रगत, मासुका डल्ला, आन्द्रा लगायत फोहोर पठाउँदा खानेपानी दूषित बन्न गएको स्थानीय बासिन्दाको भनाइ छ । त्यहाँका २ वटा वडाका करीव ३ सय घरपरिवारले उक्त खानेपानी उपभोग गर्दै आएका छन् ।

स्थानीय बासिन्दाले आफ्नो धारामा आएको पानी बोतलमा थापेर नगरपालिकामा नै पुगी नगर प्रमुखसमक्ष देखाउँदै आफूहरुले व्यहोर्दै आएको समस्या देखाएपछि मात्रै उक्त कुरा थाहा भएको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताए ।

“यो ठूलो समस्या हो, हामी तत्कालै यसको समाधान गर्छा, खानेपानी कार्यालयका अधिकृतहरुलाई समेत बोलाएर देखाइसकेका छौँ,” वादेले भने, “यो खबर पाउनासाथ म यहीँ आएर हेरिसकेँ, तत्काल समस्याको समाधान हुन्छ ।” उनले टोलवासी र कार्यालयका प्राविधिकसमेत राखेर समस्याको समाधान छिट्टै गरिने प्रतिबद्धता जनाए ।

खानेपानी संस्थान बनेपाका सबइञ्जिनीयर विजय श्रेष्ठले कार्यालयका प्रमुख केही दिनअगाडि मात्रै सरुवा भएको उल्लेख गर्दै अब हामीले गर्नुपर्ने ठाउँबाट सकेको काम गर्ने बताए ।
रासस

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।