१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा स्वास्थ्य अनुसन्धान थालनी




शुरबहादुर सिंह

जुम्ला, १५ कात्तिक ।
पिछडिएको क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्य क्षेत्रको अनुसन्धान अघि बढाएको छ ।

यस प्रतिष्ठानले कर्णालीमा स्वास्थ्य सेवा तथा शिक्षाको प्रभावकारी सञ्चालन गरिरहेको बेला स्वास्थ्य अनुसन्धानको थालनी गरेको बताएको हो । प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेले स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य शिक्षा दिँदै आएकामा यो वर्षबाट स्वास्थ्य अनुसन्धानलाई अघि बढाइएको बताए ।

“हामीले कर्णालीको मुगु, जुम्ला र कालिकोटमा सर्वे सम्पन्न गरिसकेका छौं, अब प्रतिष्ठानको कार्य क्षेत्रअन्तर्गत तत्कालीन पिछडिएको नौ जिल्लामा स्वास्थ्य सर्वेक्षण थाल्छौं” उपकूलपति वाग्लेले भने ।

प्रतिष्ठानले सबै जिल्लाको स्वास्थ्य अवस्थाको तथ्यांक लिन्छ र सोहीअनुसार उपचार सेवाको मार्ग खोल्न अनुसन्धान प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । उनले कर्णालीमा विद्यमान रोगको अवस्था, स्वास्थ्यसंग सम्बन्धित आहार, सरकारी स्वास्थ्य संरचनाको सेवा प्रवाहजस्ता महत्वपूर्ण विषय सर्वेक्षणमा आउने बताए ।

प्रतिष्ठानले अस्पतालको सेवाअन्तर्गत १०० शैयाको अस्पताल सञ्चालन, १७ जना विशेषज्ञ डाक्टरसहित १५० जना जनशक्तिले सेवा र सस्तो दरमा ठूला शल्यक्रिया जुम्लामा गर्दै आएको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार गतवर्ष २९ हजार ९३४ जना बिरामीले सेवा लिएकामध्ये दुई हजार ४९१ को ठूलो शल्यक्रिया भएको थियो ।

त्यसैगरी विपन्नलाई निःशुल्क उपचार, स्वास्थ्य बीमा शुरु, स्टाफ नर्स चौंथो र हेल्थ असिष्टेन्ट तेस्रो ब्याज सञ्चालन गरिहेको उनले बताए । उनका अनुसार ऐनले व्यवस्था गरेबमोजिम ४५ प्रतिशत पिछडिएको क्षेत्रका व्यक्तिले अध्ययन गर्ने अवसर प्राप्त गर्दै आएका छन् ।

अस्पताल निर्देशक धर्मराज गोसाईंले ६ नं प्रदेशकै उत्कृष्ट सेवा दिइरहेको हिमाली क्षेत्रमा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा साझा चिन्तन आवश्यक रहेको औंल्याए ।

दुई वर्षपछिको सिनेट बैठक उपलब्धिमूलक
प्रधानमन्त्री अध्यक्ष रहेको प्रतिष्ठानको सिनेट बैठक उपलब्धिमूलक भएको प्रतिष्ठानले जनाएको छ ।

दुई वर्षसम्म सम्पन्न हुन नसकेको सिनेट बैठकमा बहुसरोकारको स्थानीयवासीले निःशुल्क दिएको एक हजार ५०० रोपनी जग्गा पास गराउन पहल गर्ने, स्वास्थ्य शिक्षाको ‘ब्याचलर अफ मिडवाफ्री’ सञ्चालन गर्ने, कर्णालीका अन्य जिल्ला र ६ नं प्रदेशमा विशेषज्ञ सेवा शुरु गर्ने, महत्वपूर्ण बहिरंग विभाग सञ्चालन गर्नेजस्ता निर्णय भएको सार्वजनिक निर्णयमा उल्लेख गरिएको छ ।

सिनेटमा वार्षिक प्रतिवेदन, महालेखानिरीक्षक प्रतिवेदन, आर्थिक वर्ष २०७३÷७४ को आर्थिक प्रतिवेदन समेत पास भएको जनाइएको छ ।

तीन सय शैयाको भवन हस्तान्तरणको तयारीमा
प्रतिष्ठानको ३०० शैयाको भवन निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ । ७५ करोडको लगानीमा निर्मित राष्ट्रिय गौरवको प्रतिष्ठानको भवन सम्झौता गरिएकै अवधिमा हस्तान्तरण गर्ने तयारी अवस्थामा छ । अब प्रतिष्ठानले विशेषज्ञ सेवामा थप गुणस्तरता दिने बताइएको छ ।

यसैगरी प्रतिष्ठानले नेपालगञ्जबाट आयात गरिरहेको अक्सिजन प्लान्ट र ब्लड बैंक जुम्लामा पनि व्यवस्था गर्ने जनाएको छ ।
रासस

प्रकाशित मिति : १५ कार्तिक २०७४, बुधबार ००:००