१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैंक नहुँदा कारोबार गर्न समस्या




डडेल्धुरा
, १४ कात्तिक । जिल्लाका पाँचवटा गाउँपालिकामा बैंक स्थापना हुन नसक्दा आर्थिक कारोबार गर्न समस्या भएको छ ।

गाउँपालिकाबाट निकासा गरिने बजेटका लागि पनि सदरमुकाम धाउनुपर्दा निकासा गरिने रकमभन्दा बढी खर्च हुने गरेको छ । प्रत्येक स्थानीय तहमा अनिवार्य रुपमा बैंक स्थापना गर्ने भनिए पनि यहाँका सातवटा स्थानीय तहमध्ये पाँचवटा गाउँपालिकामा अझै बैंक स्थापना हुन सकेको छैन ।

आर्थिक कारोबार गर्नका लागि सेवाग्राही मारमा परेका छन् । भागेश्वर, अजयमेरु, आलिताल, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा हालसम्म बैंक स्थापना हुन सकेको छैन । कार्यालयको काम छोडेर सानो रकमका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।

आलिताल गाउँपालिकाबाट दुई हजार ५०० रकम साँट्न वा जम्मा गर्नका लागि सदरमुकाम पुग्नुपर्ने हुन्छ । आलितालबाट सदरमुकाम आउँदा ३०० गाडी भाडा र दुई दिनको खाने बस्न खर्च लगाउँदा सो रकमभन्दा बढी खर्च हुने गरेको छ । आलितालजस्तै अजयमेरु, नवदुर्गा र गन्यापबाट पनि सदरमुकाम आउन जान मात्रै एक हजारभन्दा बढी खर्च हुन्छ ।

“बैंकले विविध कारण देखाएर ढिलासुस्ती गरिरहेका छन्,” अजयमेरु गाउँपालिकाका उपप्रमुख कलावती भाटले भनिन् ।

आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ स्थानीय तहमा बैंक नहुँदा जनप्रतिनिधि र कर्मचारी जिल्ला सदरमुकाम धाउँदा स्थानीय तहका कार्यालयको काम प्रभावित हुने गरेको छ । गाउँपालिकाका कर्मचारी र पदाधिकारी सदरमुकाम धाउनमा व्यस्त रहँदा समयमै काम नहुने गरेको सेवाग्राहीको गुनासो छ ।

निजी बैंकले बैंक स्थापनाका लागि गाउँपालिकालाई आश्वासन दिएको भए पनि हालसम्म स्थापना हुन नसक्दा सेवाग्राहीका साथै स्थानीय तहमा संकलन हुने राजस्व जम्मा गर्न समस्या हुने गरेको भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टको भनाइ छ । स्थानीयस्तरमा सरकारले कामको थालनी गरेसंगै आवश्यक पर्ने कार्यालय तथा बैंक चाँडो स्थापना गरिनुपर्ने सर्वसाधारण बताउँछन् ।

पर्यटकीयस्थल बन्दै कस्या टाकुरो
अमरगढी नगरपालिका ७ स्थित प्राचीन, धार्मिक तथा ऐतिहासिक डाँडो कस्या टाकुरोको संरक्षण एवं सम्बद्र्धनका लागि पहल थालिने भएको छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले अमरगढी नगरपालिकाभित्र रहेका सम्भावित पर्यटकीय क्षेत्रको प्रचारप्रसार, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धन गरिने राय राखेसंगै कस्या टाकुरोलगायत अन्य पर्यटकीयस्थलले स्थान पाउने भएका हुन् ।

सदरमुकामबाट १२ किलोमिटर उत्तरतर्फ महाकाली राजमार्गसंगै जोडिएको कस्या डाँडोलाई धार्मिक एवं दृष्यावलोकनको रुपमा विकसित गर्न सकिन्छ । विभिन्न पार्टी, बैठक र वनभोजस्थलका रुपमा विकसित गर्नसके वडालगायत नगरले आर्थिक लाभ लिन सक्ने ब्राईट भिजन क्लबका अध्यक्ष दीपकराज भट्टराईले बताए ।

कस्या डाँडोमाथिबाट अमरगढी नगरपालिका क्षेत्र, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउँपालिकाको अधिकांश भूभागको दृष्यावलोकन गर्न सकिन्छ । महाभारत पर्वत शृंखलालगायत डोटी, अछाम, बैतडी र भारतको भूभाग पनि देख्न सकिन्छ । कस्या डाँडोमाथि भ्यूटावर निर्माण गरी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन सके आर्थिक लाभ लिन सकिने क्लबका अध्यक्ष भट्टराई बताउछन् ।

कस्या डाँडोलाई धार्मिक एवं पर्यटकीयस्थलका रुपमा विकास गर्न आफू तत्पर रहेको अमरगढी नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए । डाँडोको धार्मिक महत्वसंगै ऐतिहासिक र भ्यूटावरका रुपमा विकास गर्ने योजना नगरपालिकाको छ । प्राविधिक खटाई पैदल बाटो र डाँडामाथि रेलिङ निर्माणका लागि पहल थाल्ने ओझाको भनाइ छ ।

कस्या डाँडो समुद्री सतहदेखि करिब छ हजार ५०० फिट उचाइमा रहेको छ । अमरगढी किल्लाको उचाइ समुद्री सतहदेखि छ हजार पाँच फिट मात्रै छ । कस्या डाँडोमाथिबाट अमरगढी किल्लालगायत अन्य थुप्रै स्थानको अवलोकन गर्न सकिन्छ । कस्या टाकुरोमाथि ठूलो मैदान रहेको छ ।

अमरगढी ७ का ५९ वर्षीय केशव भण्डारी कस्या टाकुरोको इतिहास दुई हजार ५०० वर्षभन्दा पनि पुरानो रहेको बताउछन् । उनका अनुसार यहाँ भूकम्मबाट डाँडोको केही हिस्सा भाँसिएर डाँडोमुनि रहेका कारण सो ठाउँलाई कस्यामुनि भनिएको भण्डारी बताउछन् ।
रासस

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलबार ००:००