निर्मला कुशवाह
सुस्ताको पोषणमा पहिलेभन्दा सुधार आएको छ । गाउँपालिकामा एउटा बर्थिङ सेन्टर छ । पहिलेजस्तो होम डेलीभरी छैन । बर्थिङ सेन्टरमा जाँदाजाँदै व्यथाले च्यापेर बाटोमै जन्मिएछ भने अर्कै कुरा हो, नभए बर्थिङ सेन्टरमै पुगेर बच्चा जन्माउँछन् । कतिपयले आफ्नो सुत्केरीलाई सहरको सुविधासम्पन्न अस्पतालमा लगेर पनि बच्चा जन्माउँछन् ।
पहिलो, दोस्रो र तेस्रो गर्भजाँच नियमित नै हुन्छ । तर चौथो पटकचाँही बच्चा जन्माउने समय आयो भन्ने लाग्दो रहेछ । त्यो पटकचाँही कतिपय गर्भवतीले जाँच्न छुटाउँछन् ।
यसमा केही व्यवहारिक समस्या छ । भारतसँग सीमा जोडिएका बस्तीहरूमा सीमापार बैबाहिक सम्बन्ध छ । त्यसले गर्दा नेपालका गर्भवती महिलाहरू माइती भारतमा गएर बच्चा जन्माउँछन् । त्यसले गर्दा छुटिरहेको छ । तै पनि सकेसम्म चौथो पटक पनि जाँच्न भनिरहेका हुन्छौँ ।
यसबाहेक बच्चा जन्माउन बर्थिङ सेन्टर वा अस्पतालमा जाने बेला भइसक्यो, किन जाँच्नु ? भन्ने मानसिकताले पनि काम गरेको छ । पेट ठूलो भइसकेको हुँदा खुल्ला रुपमा हिँड्न पनि अफ्ठेरो मान्ने हुँदा अन्तिमको जाँच छुट्छ । तर सबैभन्दा संवेदनशील समयचाँही त्यही हो ।
यसबाहेक, बच्चाको खोपहरू छुटाउने, तौल लिन नआइदिने केही समस्या छन् ।
अहिले बहुक्षेत्रीय पोषण योजनाले दिएको सचेतना अनुसार खाना खाने बानी बस्न थालेको छ । हामी स्वास्थ्यकर्मी, स्वयमसेवक, अभियन्ता र जनप्रतिधिले सबैले भने पछि खानेबानीमा परिर्वतन आएको छ । खानेकुरामा विविधता थपिएको छ । अलि समस्या भनेको चाँही गरिबी हो । गरिब नागरिकलाई यो–यो खानेकुरा खानु पर्छ भन्नेचाँही थाह छ । तर आर्थिक अवस्थाले सकिरहेको हुँदैन ।
दुवै तरिकाको खाना खान्छन् । बरु गरिबले घरमै उत्पादन भएको खाना खान्छन् । धनीलेचाँही बजारबाट किनेर खान्छन् । स्तनपानमा पनि यस्तै समस्या छ । गरिब परिवारका आमाहरूले बढी स्तनपान गराउने, धनी भनिएका जागिरे महिलाहरूले बच्चालाई चाँडै दूध छुटाउने चलन छ ।
गाउँपालिकामा ४ वटा हेल्थपोष्ट छन् । अर्को दुई वटा स्वास्थ्य सँस्था छन् । एम्बुलेन्स छ । तत्काल उद्दार गर्नु पर्ने अवस्था आए एम्बुलेन्समार्फत स्वास्थ्य सँस्थामा बिरामीलाई ल्याउँछौँ । यहाँ उपचार गर्न नसक्ने भएमा प्राथमिक उचार गरेर ठूला अस्पतालमा पठाउँछौँ ।
जहाँसम्म स्तनपानको कुरा छ, पहिलो त शिशुप्रतिको जिम्मेवारी बोध नै प्रमुख कुरा हो । अर्को व्यवहारिक समस्या पनि छ । जागिरे महिला छिन् भने उसले कार्यस्थलसम्म बच्चा लैजान असम्भवजस्तै छ । त्यसैले हरेक कार्यस्थलमा बालबालिका स्यहार केन्द्रहरू चाहिन्छ ।
सबै ठाउँमा त्यस्ता केन्द्र बनाउन नसके पनि कम्तिमा बच्चा हेर्ने मान्छे बस्ने पूर्वाधार चाहिन्छ । अस्पताल, विद्यालय, सरकारी, गैरसकारी संघसँस्थामा यस्ता पूर्वाधार भयो भने स्तनपानको अवधि बढाउन सकिन्छ ।
कुशवाह सुस्ता गाउँपालिकाकी जनस्वास्थ्य शाखा प्रमुख हुन् । यो लेख कुराकानीका आधारमा तयार गरिएको हो ।
प्रतिक्रिया